रातोपुलस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका अभिनेता सारुक ताम्राकारको मृत्युको कारणबारे कलाकारहरुले प्रश्न उठाएका छन् । बिहीबार राति ११ बजे घरको भर्याङमा ताम्राकार झुण्डिएको अवस्थामा फेला पर्नुभएकाे थियाे । उहाँको आत्महत्याको कारण नखुलेपछि २०११ की मिस नेपाल मलिना जोशीले ‘के कारण उहाँले आत्महत्या ?’ गर्नुभएकाे हाे भन्दै केही प्रश्नहरु उठाउनुभएकाे छ ।
सामाजिक सञ्जाल इन्स्टाग्राममा पोष्ट गर्दै उहाँले सोध्नुभएकाे छ, ‘अन्तिम दिनहरुमा ताम्राकारसँग को को थिए ? अन्तिम संवादको कुराकानी के थियो ? उनको शवमा अन्तिम औंला कसको थियो ? उसले अन्तिम पटक कसलाई सम्पर्क गरेको थियो ?’
उनले पछिल्लो समय ताम्राकारले नजिकका महिला साथीहरुसँग किन सम्पर्क टुटाएका थिए भन्ने प्रश्न पनि गरेकी छन् । ‘के उनलाई राम्रो व्यवहार गरिएको थिएन ? के उनलाई दुर्व्यवहार गरिएको थियो ? के उसलाई चोट पुर्याइएको थियो ? के ऊ डिप्रेसनमा थियो ?’, उहाँले थप्नुभएकाे छ ।
अर्की पूर्वमिस नेपाल तथा अभिनेतृ सृष्टि श्रेष्ठले पनि इन्टाग्राममा ‘सत्य र न्यायको जीत हुनेछ’ भन्नुभएकाे छ । तर, प्रहरीका अनुसार हालसम्म ताम्राकारले किन आत्महत्या गरे भन्ने कारण खुलेको छैन ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार, घटनास्थलबाट सुसाइड नोट वा ताम्राकारको कुनै संकेत फेला परेको छैन ।
मृत्यु शंकास्पद देखिएपछि अनुसन्धान समेत प्रहरी वृत्त, मालिगाउँले मात्रै गरिरहेको छ । यद्यपि, घटनाको कारण पत्ता लगाउन प्रहरीले ताम्राकारको मोबाइललाई डिजिटल फरेन्सिक ल्याब (डीएफएल) पठाएको छ ।
डीएसएलबाट ताम्राकारको मोबाइलमा भएको विवरण, कुराकानी लगायतका विवरण प्रहरीले प्राप्त गर्नेछ । ‘अहिलेलाई अरु कुनै कारण देखिएको छैन, मोबाइलबाट कारण पत्ता लाग्छ भन्ने अपेक्षा हो’, एसएसपी कार्कीले भन्नुभयाे, ‘त्यसका लागि केही समय भने कुर्नुपर्छ ।’अन्य विभिन्न पाटोबाट पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
onlinekhabar