कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका ६, मटेरियाका ७० वर्षीय बमबहादुर थारु र उनी भाइकी छोरी १८ वर्षकी अञ्जली थारुको चक्कु प्रहारबाट हत्या भएको छ ।
रुपन्देहीको कञ्चन गाउँपालिका २ का २२ वर्षीय मोहन थारुले मटेरियास्थित घरमै बिहीबार बिहान ९ बजेतिर चक्कु प्रहार गरेर सख्त घाइते बनाएका थिए ।
जितपुरस्थित सामुदायिक अस्पतालमा उपचारका क्रममा बमबहादुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मीनबहादुर घलेले जानकारी दिनुभयो । घलेका अनुसार अञ्जलीको भने मेडिकल कलेज भैरहवामा उपचारका क्रममा मृत्यु भएको हो ।
दुवैलाई शरीरका विभिन्न ठाउँमा चक्कु प्रहार गरेर घाइते बनाइएको थियो । चक्कु प्रहार गर्नेलाई घटनास्थलबाटै प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।