धर्मराज बराल । नेपाल सरकारको नीति तथा कार्यक्रम - २०८० को बुंदा नम्बर १७२ मा "युवाहरुमा राष्ट्र सेवाभाव जागृत गर्न शारीरिक तथा मानसिक विकासका लागि तालिम संचालन गरिने छ" भन्ने उल्लेख छ। नीति तथा कार्यक्रमलाई कार्यन्वयन चरणमा ल्याईदा यसको रुप र सार बाहिर आउने नै छ।
राष्ट्र प्रति सेवाभाव को अर्थ राष्ट्रिय भावना जगाई राष्ट्र निर्माणको अभियानमा समाहित गर्ने भन्ने बुझ्नु पर्ने नै हुन्छ। राष्ट्रिय भावना नागरिकले साझा रुपमा अंगिकार गर्ने सामूहिक पहिचान , मूल्य , मान्यता र गौरवको ठोस अनुभूति हो। यसले सृजना गर्ने विस्वास, संस्कृति ,परम्परा र इतिहासले राष्ट्रिय चरित्र र एकतालाई मजबूत बनाउछ, जहाँ नागरिकका आकांक्ष्या, प्रतिक र आदर्शहरु प्रतिबिम्वित हुन्छन। जसले नागरिकहरुलाई एकतावद्द गरि राष्ट्र प्रतिको अपनत्व र वफादारिता जगाई राजनीति र सामाजिक संरचनालाई आकार दिनुका साथै त्यसको पृष्ठपोषण गर्दछ। नागरिकको राष्ट्र प्रतिको वफादारिता राष्ट्रिय शक्ति र राष्ट्रिय सुरक्षाको मुख्य तत्व हो। यो स्वत: स्फूर्त र घनिभूत हुनु पर्दछ। राष्ट्रिय भावना प्रेरणाको स्रोत हो जसले व्यक्ति र उनीहरूको मातृभूमिबीचको सम्बन्धलाई बलियो बनाउँछ।
निराशा , उत्पीडन, असुरक्षा , अविश्वास जस्ता गम्भिर मानसिक अवस्थाबाट गुज्रि रहेका युवाहरुमा "कसरी विदेश जाने भन्ने हैन कसरी देश छोड्ने भन्ने " मनोदशा देख्न सकिन्छ। आफू राज्यको मूल प्रवाहमा समाहित हुन नसकेको , तिरस्कृत भएको , अवसरबाट वन्चित भएको जस्ता भारि मनमा बोकेर आफूलाई दोश्रो दर्जाको नागरिक महशूस गर्दै विदेशी श्रम बजारका लागि जहाज चड्ने युवाहरुका लामा लस्कर हवाई स्थानमा देख्न सकिन्छ। पछिल्लो आँकडा अनुसार दैनिक १६ सय देखि १८ सय सम्मको संख्यामा देश छोड्ने गरेको पाइन्छ।
यसले निम्त्याई रहेको युवा निराशा , आर्थिक परनिर्भरता , सामाजिक बिखन्डन , अवैध मानव तस्करीका लागि अपनाइने मार्ग जस्ता गम्भिर अपचलनले अन्य अपराधिक गतिविधि हुने र अन्तरास्ट्रिय अपराधिहरुले खेल्ने मौका पाउने कुरामा शंका रहदैन। आप्रवसनमा हुने श्रम शोषण , मानव अधिकारको उलंघन ,दुर्व्यबहार जस्ता कारण उनीहरुमा सृजना हुने असह्य निराशा र आक्रोशको भावना। यस्तो अवस्थामा उनिहरु ले अविभावक बिहिन र राज्य बिहिन जस्तो अनुभूति गरिरहन्छन्। आफ्नै जन्मभूमिमा भविष्य सुरक्षित नहुँदा निर्मम अपमान सहेर पनि काम गर्न बाध्य हुन्छन। यस्ता संवेदनशील विषयले राष्ट्रिय सेवाभाव तथा राष्ट्रिय भावनामा ठुलो ह्रास आई राष्ट्रिय सुरक्षालाई कमजोर बनाउछ। युवाहरुमा राष्ट्रिय भावनाको विकास नहुँदा राजनीतिक प्रणाली र राज्यका गतिविधिमा सहभागिता न्युन हुन्छ, जसले अपनत्व र वफादारिता निर्माणमा नकारात्मक प्रभाव पर्दछ। अर्कोतर्फ़ प्रतिभा पलायन ले पर्ने दिर्घ कालिन क्षति कल्पना गर्न सकिदैन।
राष्ट्रिय भावना स्वत: स्फूर्त र अमुर्त पनि हो। राष्ट्रिय भावना र भोको पेट सधै समान्तर मार्गमा नजान पनि सक्छन। उक्त नीतिलाई मूर्त रुप दिने प्रस्थान विन्दु, जाने मार्ग र पुगिने स्थान त्यति सहज छैन। युवाहरुमा सृजना भएको राज्य संचालक प्रतिको अति अविस्वास र निराशा चरम स्थितिमा पुगेको। स्वदेशमा सम्मान जनक र सुरक्षित जीवन जिउने अधिकार थिलो थिलो परेको , केहि शिर्ष नेतृत्वहरुबाट नै नागरिक तस्करी गर्ने गैह्र जिम्मेवार अभिव्यक्तिहरु आउनु , प्रत्यक्ष अप्रतक्ष्य रुपमा सरकार र सरकार संरक्षित गिरोहको सक्रियता रहनु। यी केहि उदाहरण हुन् जसले नेतृत्व राष्ट्रिय सुरक्षा र नागरिकको स्वाभिमानको हित गर्ने मार्ग च्यूत भएको छ भन्न सकिन्छ। यो यथोचित नीति निर्माणमा नेतृत्व वर्गको अदुरदर्शिता, इक्षा शक्तिको मृत्यु र नालायकी पनको पराकाष्ठा भन्न सकिन्छ।
बेला बेलामा राज्य संचालकहरुबाटै आफूहरु नै असुरक्षित रहेको भन्ने जस्ता आम नागरिक र विशेष गरि युवाहरुमा गम्भिर नकारात्मक संदेश जाने अभिव्यक्तिहरु आइरहनु , नागरिकहरुलाई दास युगका दास सरह लिलाम बढाबढमा लिलामी गराई विदेशी श्रम बजारमा तस्करी गर्ने , त्यस्ता तस्करी बजार बिस्तारमा जोड दिने र नागरिक तस्करीको हिस्सा खाने राज्य संचालक र संस्थाहरुको गतिबिधि, नेतृत्व निजीकरण तर्फ , अवसरहरु परिवारिकरण र दलालीकरण तर्फ उन्मूख हुनु थप डर लाग्दा कारण हुन् जसले आम युवाहरु आफूहरु बहिस्कृत , अपमानित र असुरक्षित भएको महसूस गर्दछन । यसरी युवाहरुमा अब देशमा केहि हुदैन भन्ने आतंक सृजना गर्न सरकार , प्रणाली , संयन्त्र नै सक्रिय रहेको देख्न सकिन्छ।
युवा तथा प्रतिभा पलायनका कारण देशले तत्काल भोगी रहेको आर्थिक, सामाजिक क्षति यसले पर्न सक्ने दिर्घकालिन प्रभाव, नागरिक सार्वभौमिकता र आफ्नै देशमा पौरख गरि सम्मानित नगारिकको रुपमा बाँच्न पाउने अधिकारको संरक्षण गर्दै नागरिकलाई अविभावकत्व र संरक्षण प्रदान गर्ने दायित्व बोकेको पक्ष नै आफै विपरित र नकारात्मक दिशामा चल्ने र प्रभावहीन समेत भएका कारण भविष्य असुरक्षित भएको ठहर गरि बिदेसिन बाध्य युवाहरुको निराशाले पक्कै पनि राष्ट्रिय हितको पक्ष पोषण र सम्बर्धनमा कमि आउने र यस्तो संवेदनशील ठाउँलाई अन्य राष्ट्रहरुले अप्रतक्ष रुपमा हाम्रो राष्ट्रिय सुरक्षाका विरुद्दमा दुरुपयोग गर्न सक्ने सम्भावनालाई नकार्न सकिन्न। युवाहरुमा राष्ट्रिय भावनाको कमि आउनुले राष्ट्रिय सुरक्षामा ठुलो असर पर्दछ।
उल्लेखित केहि उदाहरण हुन् जसले नेपाली युवाहरु किन देश छोड्ने वाध्य छन् , उनीहरुलाई राष्ट्र निर्माणको बृहत अभियानमा समाहित हुन बाट किन बन्चित पारिएको छ ? त्यस बाट नेपालले भोग्नु पर्ने तत्कालिन र दिर्घकालिन सिलसिला के हुन सक्छन ? भन्ने कुरा तर्फ संकेत गर्दछन।
माध्यमिक शिक्षा पुरा गर्दा नगर्दै नेपाली युवाहरुको ठुलो हिस्सा म कुन देशको लागि श्रमदान गर्न योग्य छु भनेर कित्ता काँट गर्छ। आफ्नो योग्यता र आर्थिक अवस्थाका आधारमा आफूलाई खाडी , मलेसिया, जापान , कोरिया , युरोप , अमेरिका भनेर भाग लगाउन वाध्य युवाहरुलाई राष्ट्र सेवाभाव जागृत गर्ने मानसिक तथा शारीरिक तालिम दिने नीति यथास्थितिमा हास्यास्पद नै भन्न सकिन्छ।
राज्य वास्तवमै उल्लेखित अवस्था प्रति शम्वेदंशील र सजग भएको हो र राष्ट्रिय सुरक्षा, नागरिक हित र नागरिक सुरक्षा प्रतिको दायित्व वोध गरि युवाहरुमा राष्ट्रिय भावना जगाई रास्ट्र सेवामा समर्पित गराउने असल मनसाय बाट यो नीति आएको हो भने यो आफैमा स्वागत योग्य कुरा हो।
युवाहरुको ठुलो हिस्सा विभिन्न मुलुकमा अपमानित रुपमा श्रम बेचि रहेको छ। खाडी र मलेसिया तर्फ मात्र हैन अस्ट्रेलिया तर्फ पनि नेपाल श्रमिक र सुरक्षा गार्ड उत्पादन गर्ने संयन्त्र हो भन्ने संदेश गै रहेको सुन्नमा आउछ। नेपाल मै रहेका अधिकांश युवाहरु युवा नभै विभिन्न पार्टीका नाममा विखण्डित समूह देखिन्छन । ठालू मानसिकता राख्ने त्यो तप्का झोले र दलाल भन्दा माथि उठ्न सकेको अनुभूति गर्न सकिएको छैन। आफू सुरक्षित र संरक्षित रहेको ठान्ने यस्तो समूह पार्टिको आवरण र संरक्षणमा कमाउने अवसर खोजि रहेको पाइन्छ। त्यस्तो समूह राज्य प्रति वफादार छैन , नेता प्रति वफादार छ। विगत केहि समय देखि नेतृत्व व्यक्तिवादी हुदै गएको अवस्थामा त्यस्ता समूहहरु आशिर्वाद प्राप्त झन् अवसरवादी गुटमा सांगुरिदै गएको देख्न सकिन्छ। त्यहाँ पनि युवाहरु विखण्डित भएको , चरम निराशा उत्पन्न भएको पाइन्छ। तर पनि दास प्रवृतिका कारण न्यायको खोजि गर्न सकेको पाईदैन।
एकातिर , देशमा व्याप्त बेथिति र असुरक्षाका कारण ठुलो संख्यामा युवाहरु विदेशमा श्रम बेचि रहेकाछन। अर्को तर्फ देशमै रहेका युवाहरुको ठुलो हिस्सा निराशा र विखण्डनको मानसिकतामा रहेको छ। यस्तो अवस्थामा उनीहरुमा राष्ट्र सेवाभाव सृजित गर्ने कार्य अत्यन्त जटिल विषय हो। यो वहुयामिक छ। राष्ट्र सेवा भन्ने बित्तिकै राष्ट्रिय भावनालाई इङ्गित गर्दछ। युवाहरुमा त्यो भावना देशमा उत्पन्न परिस्थितिले क्रमसः ह्रास भएको हो। मलुकको असामान्य आर्थिक संकटले युवा पलायन हुने कुरालाई अहिले थप मद्दत गरेको छ। तथापी , देशमै पौरख गर्न पाउने , सुरक्षित र सम्मान जनक नागरिक जीवन व्यतितको प्रत्याभूति जस्ता आधारभूत कुराहरुको प्रारम्भ सम्म गर्न सके पनि एउटा जग बस्थ्यो।
जसको लागि शिर्ष तह नै उत्प्रेरक र "रोल मोडल" को रुपमा खरो उत्रनु पर्दछ। तर सरकार , शासन र संयन्त्रहरु विखण्डित र अति राजनीतिकरणका कारण थिलोथिलो भएको र राजनीतिक संस्था र नेतृत्व प्रति आम जनतामा चरम अविस्वास पैदा भएको अवस्थामा यो जटिल बिषय हो।
आहा, कति गहिरो विश्लेषण ! धेरै धेरै बधाई धर्म जी। You deserve to be the scholar of political science.