पोखरा, १० चैत । पोखराको पृथ्वीनारायण क्याम्पसमा राजनीतिशास्त्र विभागमा स्नातकोत्तर तह पहिलो सेमेष्टरमा भर्ना भएका नयाँ विद्यार्थीलाई तेश्रो सेमेष्टरका विद्यार्थीहरुले स्वागत गरेका छन् । सहायक क्याम्पस प्रमुख लाल बहादुर कुँवरको उपस्थितिमा परिचयात्मक र स्वागत कार्यक्रम गरेका हुन् ।
कार्यक्रममा बोल्दै सहायक क्याम्पस प्रमूख कुँवरले स्नातकोत्तर तहमा रहेको सेमेष्टर प्रणालीको बारेमा जानकारी दिनुभयो । साथै उहाँले क्याम्पसको वर्तमान अवस्थाको बारेमा जानकारी गराउनुभयो । क्याम्पसमा श्रोत साधनको कमी रहेकाले क्याम्पसको विकासमा चुनौति थपिएको बताउनुभयो ।

त्यस्तै कार्यक्रममा राजनीतिशास्त्र विभागका प्रमुख ठान बहादुर क्षेत्रीले पछिल्लो समय अन्य विधाका विद्यार्थीहरुपनि राजनीतिशास्त्र अध्ययन गर्न उत्सुक देखिएको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले विभागबाट २३ औँ जर्नल प्रकाशित भइसकेको बताउदै विद्यार्थीहरुलाई पनि लेख्ने बानीको विकास गर्न सुझाव दिनुभयो । विभिन्न विषयमा लेखहरु लेख्न उहाँले आग्रह गर्नुभयो । साथै उहाँले यसरी औपचारिक कार्यक्रम गरि आफु भन्दा तल्लो सेमेष्टरमा पढ्ने विद्यार्थीहरुलाई स्वागत गर्ने कार्यक्रम क्याम्पसमा पहिलो पटक भएको भन्दै बिद्यार्थीहरुलाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा हालै गठन भएको पोलिटिकल साइन्स सोसाइटी नेपालको बारेमा चर्चा गरिएको थियो । देशमा विद्यमान राजनीति र राजनीतिज्ञहरुलाई सुझाव दिदै राजनीति सुधारको लागि सोसाइटिले भुमिका खेल्ने कार्यक्रमका अध्यक्ष एवं पोलिटिकल साइन्स सोसाइटी नेपालका अध्यक्ष सुभास ढुङ्गानाले बताउनुभयो ।
तेश्रो सेमेष्टरकी विध्यार्थी डिलकुमारी पौडेलले स्वागत गर्नुभएको कार्यक्रममा पहिलो सेमेष्टरमा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुको तर्फबाट धर्मराज बराल र मनिषा गौतमले बोल्नुभएको थियो । सुभास ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन डा सञ्जय कोइरालाले गर्नुभएको थियो ।


