काठमाडौं । पेन्सन पाउने उमेर बढाउने सरकारको योजनालाई लिएर फ्रान्समा लाखौँ मानिस सडकमा उत्रिएका छन् । प्रदर्शन चर्किएका बेला बोर्डो टाउन हलमा आगो लागेको छ । हिजो बेलुका दक्षिण पश्चिमी सहर बोर्डोको टाउन हलको मूल ढोकामा आगो लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
दमकलको सहायतामा आगो तत्काल निभाइएको थियो । कसरी आगलागी भयो खुलेको छैन । फ्रान्सका विभिन्न सहरमा गरी १० लाख मानिस सडकमा आएका तथा तीमध्ये एक लाख १९ हजार मानिस राजधानी पेरिसमा रहेको आन्तरिक मन्त्रालयको तथ्याङ्क छ।
पश्चिमी सहरहरू नान्टेस, रेनेस र लोरिएन्टमा पनि झडपहरू भएका थिए । प्रदर्शनको क्रममा देशभरबाट ८० जना पक्राउ परेका छन् । सेवा निवृत्तिको उमेर दुई वर्ष बढाएर ६४ वर्ष पुर्याउने कानुनविरुद्ध प्रदर्शन सुरु भएको हो । विरोध प्रदर्शनका कारण रेल सेवा, तेल प्रशोधन केन्द्रहरू पनि असर परेको बीबीसीले जनाएको छ ।
पेरिसमा फोहर सङ्कलन गर्ने कामदारहरूले मार्च ६ मा पेन्सनबारे नयाँ योजनाविरुद्ध हड्ताल सुरु गरेका थिए र यो आउँदो सोमवारसम्म जारी रहने छ । गएको जनवरीयता त्यहाँ नौ दिन विरोध प्रदर्शन भइसकेको छ र फ्रान्सेली सङ्घहरूले अर्को मङ्गलवार थप हड्तालसहित दशौँ दिनको कार्यक्रम आह्वान गरेका छन् ।