खोटाङ । खोटाङको ६.६ मेगावाट क्षमताको साप्सु खोला जलविद्युत् आयोजनाले खोलै सुकाएर पानी प्रयोग गरेको पाइएको छ ।
हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा साप्सु खोलाबाट विद्युत उत्पादन गर्नेक्रममा आयोजनाको प्रवर्द्धक कम्पनी थ्रिस्टार हाइड्रोपावर कम्पनी लिमिटेडले सिङ्गो खोला नै सुकाएर पानी प्रयोग गरिरहेको पाइएको हो ।
कम्तीमा १० प्रतिशत पानी खोलामा छाड्नुपर्नेमा खोलाको भएभरको पानी ड्यामतर्फ फर्काएर लगेको पाइएको खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईँले बताउनुभयो ।
२०७८ साल मंसिर १४ गतेदेखि परीक्षण उत्पादन सुरु गरेको जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् २०७८ साल पुसमा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो ।
जलविद्युत् आयोजनाको डिसेन्डर, क्यानल र पानी जमाउने रिजर्भवयर वरपर अहिलेसम्म तारबार समेत नहुँदा जोखिम पनि छ । कम्पनीलाई १५ दिनभित्र घेराबारा गरिसक्न दिर्नेशन दिएको पनि प्रमुख जिल्ला अधिकारी सेडाईँले जानकारी दिनुभयो ।