पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले खेलाडी गहना नभई देशको सम्पती भएको बताउनुभएकाे छ ।
प्रदेश खेलकुद परिषद गण्डकी द्वारा हालै टाइगर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ विजयी खेलाडीहरुको सम्मानमा आयोजित बधाई तथा सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएकाे हाे । प्रदेश खेलकुदका
संरक्षक समेत रहनुभएका मुख्यमन्त्री अधिकारीले भन्नुभयाे–“हामी यहाँहरुको प्रदर्शनका लागि खुसी व्यक्त गर्दछौं । वि आर सो प्राउड अफ यू । तपाईहरुले सम्मान बढाउनु भएको छ । तपाईहरुलाई बधाई छ ।”

“कोही कोहीले भन्ने गर्छन खेलाडी गहना हुन । गहना त जो कोही संग सापटी मागेर पनि लाउन सकिन्छ । त्यस्तो गहना होइन उहाँहरु । सजाउने विषय पनि होइन । उहाँहरु सम्पती हो,” मुख्यमन्त्री अधिकारीले भन्नुभयाे–“उहाँहरु सजाउने गहना होइन । राष्ट्रिय दुत पनि हो ।” यहाँहरु साग, एसियन र ओलम्पिक सम्म पुग्नुहोस शुभकामना छ ।”
खेलाडीहरु अन्तर्राष्ट्रिय मञ्चमा पुगे पछि नै राष्ट्रिय झण्डा फहराउने उल्लेख गर्दै खेलाडीको हातमा हुने झण्डाले राष्ट्रको गौरव बढाउने कार्य गर्ने बताउनुभयाे । संघिय संसदमा हुँदा खेलाडीहरुलाई पारश्रमिक दिनुपर्छ भनेर प्रस्ताव गर्ने आफू रहेको बताउँदै मुख्यमन्त्री अधिकारीले गण्डकी प्रदेश सरकार सदैव खेलाडीहरुको साथमा रहेको बताउनुभयाे । खेलाडीहरुको वृती विकासका लागि प्रदेश सरकारले गम्भिर भएर अघि बढ्ने समेत उहाँले प्रतिवद्धता जनाउनुभयाे ।
कार्यक्रममा सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङले खेलाडीहरुके हितका लागि मन्त्रालय संधै अघि रहेर कार्य गर्ने बताउनुभयाे । उहाँले भन्नुभयाे–“हामी यहाँहरुको वृति विकासका लागि गम्भीर छौं । यहाँहरुको अन्तर निहित क्षमतालाई
त्यसै ह्रास हुन दिने छैनौं । यहाँहरुको क्षमतालाई खेलाडी उत्पादनमा लगाउने हामी प्रतिवद्ध छौं ।” उहाँले खेलाडीलाई स्वरोजगार बनाउन मन्त्रालयले कार्य गर्ने बताउँदै टाइगर कपमा विजयी हुनुले पनि भलिबल खेलको विकासका लागि महत्वपूर्ण रहेको बताउँदै विजयी टिमलाई बधाई दिनुभयाे ।
सो प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङले टाइगर कप भलिबल प्रतियोगितामा प्राप्त सफलताले सिङ्गो प्रदेश खेलकुद गौरवान्वित भएको बताउँदै खेलाडीहरुको अन्तरनिहित क्षमतालाई यथावत राख्न प्रदेश खेलकुद सदैव सहयोग गर्न
तयार रहेको बताउनुभयाे ।
कार्यक्रममा प्रदेश खेलकुदका सदस्य सचिव घनश्याम पौडेल, टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्मा, गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नविन गुरुङलगायतले खेलाडीलाई सम्मान मात्रै नभई खेलाडीलाई परिचालन गर्न आवश्यक वृती विकासका लागि प्रदेश सरकार गम्भिर भएर सोच्नु पर्ने बताउँदै विभागिय टिमहरुको चुनौतीका विच गण्डकी प्रदेशले नतिजा निकाल्नु महत्वपूर्ण रहेको बताउनुभयाे । स्मरणिय के छ भने गत माघ ८ देखि १४ गते सम्म सञ्चालन भएको तेस्रो टाइगर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ गण्डकीले प्रथम स्थान प्राप्त गरेको थियो ।