त्रिभुवन विश्वविद्यालयअन्तर्गतका देशैभरका अधिकांश विद्यालयमा स्ववियु निर्वाचन जारी छ । तर, पोखराका कुनै पनि विद्यालयमा भने स्ववियु निर्वाचन हुन सकेको छैन । देशकै सबैभन्दा बढी विद्यार्थी भएको पीएन क्याम्पससहित स्ववियु निर्वाचन हुने भनिएका ६ वटा क्याम्पसमा निर्वाचन स्थगित भएको हो ।
६ क्याम्पसमध्ये पोखरा नर्सिङ र पश्चिमाञ्चलन इन्जिनियरिङमा मात्रै फागुन २७ गते मनोनयन दर्ता भएको थियो । तर, उम्मेदवारी दर्तापछि पनि विद्यार्थी संगठनबीच आन्तरिक विवाद बढ्दा अन्य प्रक्रिया अघि बढ्नै सकेन ।
१० हजारभन्दा बढी मतदाता भएको पृथ्वीनारायण क्याम्पसमा निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी हुँदा एकातिर मनोनयन दर्ता नै हुन सकेन भने उच्च अदालतले पनि निर्वाचनको गतिविधि सञ्चालन नगर्न अल्पकालीन आदेश दिएको छ । क्याम्पसको विवाद अदालतसम्म पुग्दा निर्वाचन समितिले नै राजीनामा दिइसकेका छन् ।
फागुन २७ गते उम्मेदवारी दर्ताको कार्यसूची रहे पनि पोखराको पृथ्वीनारायण क्याम्पसमा उम्मेदवारी दर्ता हुन सकेन । उम्मेदवारी दर्ता अगावै निर्वाचन समितिबाटै विद्यार्थीको व्यक्तिगत विवरण बाहिर ल्याएको भन्दै केही विद्यार्थी संगठनले तालाबन्दी गरेपछि उम्मेदवारी दर्ता हुन नसकेको हो ।
त्यसअघि विद्यार्थीले आफूहरुले नाम दर्ता गर्दा एउटा समूहबाट गरेको र समितिले अर्को नाम राखेर दर्ता गरिदिएको भन्दै उच्च अदालतमा रिट दर्ता भएको थियो । सोही रिटमाथि न्यायाधीश ऋषि राजभण्डारीको एकल इजालसले अन्तरिम आदेश नआउँदासम्म क्याम्पसमा स्ववियू निर्वाचनका कुनै पनि गतिविधि नगर्न अल्पकालीन आदेश दिएको छ ।
दीप्सन गुरुङ, विप्लवी न्यौपानेलगायत विद्यार्थीले ‘स्वतन्त्र विद्यार्थी समूह’ बनाएर संगठन दर्ता गराएका थिए । निर्वाचन अधिकृतको कार्यालयले त्यस्ता सबै नाम परिवर्तन गर्दा गुरुङ, न्यौपानेको संगठनको नाम पृथ्वी विद्यार्थी मञ्च राखिदिएको थियो । त्यसपछि पुरानै नाम कायम गरिदिन माग गर्दै विप्लवी न्यौपानेले क्याम्पसलाई विपक्षी बनाएर उच्च अदालतमा २६ फागुनमा रिट हाल्नुभएकाे थियाे ।
त्यसबाहेक क्याम्पसमा विद्यार्थीको डाटा बाहिर ल्याएको भन्ने विषयमा पनि लफडा जारी नै छ । स्ववियु निर्वाचनको तयारी चलिरहँदा पृथ्वीनारायण क्याम्पसमा विद्यार्थीको व्यक्तिगत कागजात बाहिर ल्याएको भन्दै विवाद सुरु भएर तालाबन्दीसम्म पुगेको थियो ।
विद्यार्थीको व्यक्तिगत डाटा ‘लिक’ भएको विषयमा प्रशासन, विद्यार्थी संगठनबीच एकआपसमा आरोपप्रत्यारोप चलिरहेको छ ।
विद्यार्थीको व्यक्तिगत विवरण बाहिरिएकोबारे तथ्य खुल्न नसक्दा निर्वाचन समितिको दैलोमा लागेको ताला पनि अझै खुल्न सकेको छैन ।