विराटनगरका दुई क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन अनिश्चित भएको छ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा तालाबन्दी गरेको छ भने नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले नर्सिङ कलेजमा तालाबन्दी गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयले ५ चैतमा स्ववियु निर्वाचन तोकेको छ । तर नेविसंघले शुक्रबार बेलुका नर्सिङ कलेजमा र अनेरास्ववियुले शनिबार बिहान महेन्द्र मोरङमा तालाबन्दी गरेका हुन् ।
अनेरास्ववियु मोरङका अध्यक्ष तुलसी घिमिरेले सम्बोधन हुने माग राखेर क्याम्पसमा तालाबन्दी गरिएको बताउनुभयाे । ‘हाम्रो माग मोरङका सबै कलेजमा शान्तिपूर्ण रुपमा चुनाव होस् भन्ने छ’, उहाँले भन्नुभयाे, ‘तर महेन्द्र मोरङमा प्राइभेट फ्याक्ल्टीका विद्यार्थीलाई धम्की दिने र ट्रान्सफर भइसकेका विद्यार्थीलाई पनि मतदाताको सूचीमा राखेपछि तालाबन्दी गरेका हौं ।’
अनेरास्ववियुले महेन्द्र मोरङमा मतदाता नामावली छानबिन गर्नुपर्ने, क्याम्पस प्रशासनले विद्यार्थीलाई निश्चित उम्मेदवारलाई भोट मागेको विषयमा अनुसन्धान गर्न माग गरेको छ ।
निर्वाचनको सबै तयारी भइसेको अवस्थामा तालाबन्दी भएको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका प्रमुख बाबुराम तिम्सिनाले बताउनुभयाे । ‘बुथ बनाइसकेका छौं, मतपत्र छापिसकिएको छ, निर्वाचनको सबै तयारी भइसकेको छ’, उहाँले भन्नुभयाे, ‘आज तालाबन्दी भयो, बार्ताबाट सहमति भयो भने चुनाव हुन्छ ।’
विद्यार्थीको चुनाव भएकाले क्याम्पस प्रशासनले सहजीकरण गर्न सक्ने बताउँदै उहाँले सहमति गर्न आग्रह गर्नुभयाे । ‘बुथ बनिसको छ । चुनावका लागि धेरै खर्च भइसकेको छ’, उहाँले भन्नुभयाे, ‘हामीले मात्रै रिस्क लिएर गर्न गाह्रो छ । वातावरण बन्यो भने चुनाव हुन्छ ।’
महेन्द्र मोरङ कलेजमा हारको मानसिकताले अनेरास्ववियुले तालाबन्दी गरेको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य अभिमन्यु यादवले बताउनुभयाे । विद्यार्थीहरुले चुनाव चाहेको र सबै तयारी भएको अवस्थामा हारको मानसिकतामा तालाबन्दी गर्नु गलत भएको उहाँले बताउनुभयाे ।
नेपाल विद्यार्थी संघले भने नर्सिङ कलेजमा विद्यार्थीलाई कलेज प्रशासनले धम्की दिएको भन्दै तालाबन्दी गरेको हो ।
onlinekhabar