काठमाडौं । हास्य अभिनेता हरिवंश आचार्यको शब्द, संगीत र स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । लोक लयमा आधारित ‘काउली’ बोलको उक्त गीतमा लोक गायिका शान्तिश्री परियारले उहाँलाई साथ दिनुभएकाे छ ।
गीतको भिडियोमा समेत आचार्य स्वयंले अभिनय गर्नुभएकाे छ । भिडियोमा उहाँसँगै पहिलोपल्ट प्रकाश सपुत र प्रियंका कार्कीले एकसाथ जोडी बाँध्नुभएकाे छ । गीतको भिडियोमा चेलबेटी बेचबिखनको सन्देशसमेत दिन खोजिएको छ । गीतको भिडियो निर्देशन सरोज ओलीले गर्नुभएकाे छ ।

हरिवंशका अनुसार उहाँले यो गीते निर्देशक ओलीकै एनिभर्सरीका दिन लेख्नुभएकाे हाे । ‘एक वर्षअघि म सरोज भाईको एनिभर्सरीको पारिवारिक जमघटमा सहभागी हुन होटल तिब्बेतमा गएको थिएँ,’ हरिवंशले सम्झिनुभयाे, ‘त्यहीबेला एक्कासी काउलीको प्रसंङ निस्कियो । मेरो मुखमा त्यसै ‘ए काउली, नचिने मान्छे आँखा झिम्काउली’ शब्द फुर्यो । त्यसपछि यसले गीतको स्वरुप पाएको हो । ’

गीत पारिवारिक र सांस्कृतिक कार्यक्रमतिर नाच्न मिल्ने बनेको बताउँनुहुन्छ आचार्य । ‘बिहे ब्रतबन्धतिर उफ्रिउफ्रि नाच्न मिल्ने गीत बनेको छ, रमाइलो लाग्यो भने दर्शकहरु पनि उफ्रिउफ्रि नाच्न सक्नुहुनेछ,’ उहाँले भन्नुभयाे ।
यो गीतको श्यामश्वेत रसाईलीले एरेन्ज र गम्भिर विष्टले भिडियो कोरियोग्राफी गरेका हुन् ।
भिडियो लिंक–https://www.youtube.com/watch?v=rPOOhiyIPIk