पोखरा । प्रदेश खेलकुद परिषद, गण्डकीको चौथो पूर्ण बैठक सम्पन्न भएको छ। गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री तथा परिषदका अध्यक्ष समेत रहनुभएका पञ्चमान गुरुङको अध्यक्षतामा बुधबार साँझ सम्पन्न भएको हो । सो अवसरमा मन्त्री गुरुङले खेल संघहरुलाई व्यवस्थित गर्ने संगै प्रदेशमा खेलिने परम्परागत खेल संघहरुलाई समेत समेट्न आग्रह गर्नुभएकाे छ ।

परिषदका पदाधिकारीहरुले स्वयंसेवी रुपमा खेलकुद विकासका लागि गरेको भूमिकाका लागि मन्त्री गुरुङले प्रशंसा गर्दै नवौं राष्ट्रिय खेलकुदमा प्राप्त उपलब्धिको उच्च मुल्याङ्कन गरिने समेत बताउनुभयाे । मन्त्री गुरुङले खेलकुद विकासका लागि
मन्त्रालय प्रतिवद्ध रहेको जनाउँदै कुनै पनि महत्वपूर्ण खेलकुद कार्यक्रमका लागि मन्त्रालयले सहयोग गर्ने समेत उल्लेख गर्नुभयाे । उहाँले छोटो समयमा परिषदले गरेका कार्यक्रमहरुले समेत खेलकुद विकासका लागि महत्वपूर्ण रहेको जनाउनुभयाे ।
सो अवसरमा बोल्दै मन्त्रालय सचिव हेमराज सुवेदीले प्रदेश खेलकुदको बार्षिक कार्यक्रममा समावेश भएका विभिन्न महत्वपूर्ण कार्यक्रमहरुले खेलकुद विकासलाई गति दिन सहयोग पुग्ने बताउनुभयाे । यस आर्थिक वर्ष करिव ६० प्रतिशत बजेट खर्च
हुनु उपलब्धि मुलक रहेको बताउँदै उहाँले बाँकी कार्यक्रमहरु यथासिघ्र सम्पन्न गरी शतप्रतिशत सफलता हासिल गर्न आग्रह गर्नुभयाे ।
परिषदका सदस्य सचिव घनश्याम पौडेलले सहजीकरण गरेको बैठकमा प्रदेश खेलकुद संघ गठन, प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन, नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता तथा मुख्यमन्त्री कप भलिबल प्रतियोगिताको समिक्षा, वार्षिक
कार्यक्रम सञ्चालन गर्ने सम्वन्धमा निर्णयहरु समेत गरेको छ ।
बैठकले प्रदेश खेलकुद विकास विधेयक २०७७ र नियमावलीमा देखिएका समस्याहरुको बारेमा सुझाव संकलन गरी पेश गर्न परिषदका उपाध्यक्ष धोज कुमार गुरुङको संयोजकत्वमा पाँच सदस्यि समिति गठन समेत गरेको छ । समितिमा कार्यकारी सदस्य द्वय दिल बहादुर गुरुङ र तारामायाँ थापा मगर, परिषदका सदस्य केशव पाठक तथा गण्डकी विश्वविद्यालयका प्राध्यापक डा. मधुसुदन सुवेदी रहनुभएकाे छ ।
बैठकमा प्रदेश खेलकुदका कार्यालय प्रमुख तोपलाल भुसाल, लेखा प्रमुख निलकण्ठ ढकालले समेत बोल्नुभएकाे थियाे ।