काठमाडौं । लोकगायक राजेन्द्र लम्सालको पार्थिव शरीरलाई शुक्रबार स्पेनबाट नेपाल ल्याइएको छ । मध्यान्ह ल्याइपुर्याइएको शवलाई बुझ्न लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरसहितका कलाकार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।
लम्सालको शवलाई आजै पशुपतिको विद्युतीय गृहमा अन्त्येष्टि गरिने उहाँका भाञ्जा तथा प्रतिष्ठानका महासचिव शिव हमालले जानकारी दिनुभएकाे हाे । शवलाई विमानस्थलबाट शवयात्रा गरेर पशुपतिस्थित विद्युतीय शवदाह गृहमा लगिने भएको छ । शवदाह गृह परिसरमै शोकसभासहित श्रद्धाञ्जली दिने कार्यक्रम हुनेछ ।

प्रतिष्ठानले वक्तव्य जारी गर्दै लम्सालप्रति श्रद्धाञ्जली व्यक्त गर्नका लागि उपस्थित हुन कलाकर्मीलाई आग्रह गरेको छ । प्रतिष्ठानको युरोप शाखाका संरक्षक समेत रहेका लम्सालको गत फागुन २३ गते निधन भएको थियो । उहाँ पिसाबसम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्याे । उहाँ कलाकार तथा मोडल सागर लम्साल बलेका बुवा हुनुहुन्छ ।

लम्साल लोक गायन क्षेत्रका पाका गायक हुनुहुन्छ । उहाँले गाएका दर्जनौं गीत लोकप्रिय छन् । ‘जापान टोकियो’, ‘डोरीको तीन फुदा’, ‘वालिङ फिरफिरे’, ‘शिरमा रिबन सलको पछ्यौरी’, ‘भीरको टुनी हो’, ‘मस्र्याङ्दीको पुल’, ’आमा तिम्रो दूधको भारा’, ‘राइनासकोटको भीर’, ‘निलो पछ्यौरी’ लगायत गीत उहाँका लोकप्रिय छन् । ‘जापान टोकियो’ उहाँको सर्वाधिक चर्चित गीत हो । गायकको नाम थाहा नपाएपनि धेरैको मुखमा यो गीत अहिले पनि झुण्डिएको छ ।
onlinekhabar