पर्वत । ५ वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा मोदी गाउँपालिका–६ तिलाहार का ३४ वर्षीय होमबहादुर बस्नेतलाई जिल्ला अदालतले ३ वर्ष ९ महिना कैद सजायको फैसला गरेको छ ।
गएको जेठ ३१ गतेका दिन बालिकालाई अपहरण गरेको आरोपमा मुद्दा सुनुवाईसँगै जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा रहेका थिए बस्नेत ।
उनलाई पर्वत जिल्ला अदालतको फागुन ३० गतेको फैसलाले ३ वर्ष कैद सजायसँगै बालबालिका विरुद्धको कसुर अन्तर्गत ६ महिना र एकीकृत कसुर अन्तर्गत ३ महिनाको कैद सजायको फैसला सुनाएको हो ।
यस्तै अदालतले अपहरण सम्बन्धी कुसर अन्तर्गत ३० हजार र बालबालिका कसुर अन्तर्गत ३० हजार गरी ६० हजार रुपैयाँ जरिबानासहित २ हजार ४ सय रुपैयाँ पीडित राहतकोषमा रहने पनि फैसला सुनाएको पर्वत जिल्ला अदालतका सूचना अधिकारी एवं श्रेष्तेदार राजु ढुंगानाले जानकारी दिनुभयो ।
बालिका अपहरण गरेको भन्दै पीडित बालिकाकी आमा ३४ वर्षीया राधा पौडेल ढुंगानाले जेठ ३१ गते जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी दिनुभएको थियो ।
उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतले अपहरण वा शरीर बन्धक सम्बन्धी कसुरमा असार १ गते मुद्धा दर्ता गरी कार्बाही प्रक्रिया अघि बढाएको थियो ।