काठमाडौं । बचतकर्ताको रकम ठगी गरेको आरोपमा तुलसी बहुमुखी बहुउद्देश्य सहकारी संस्था लिमिटेड बिराटनगरका ३ जना सञ्चालक पक्राउ परेका छन् । उनीहरुलाई बचतकर्ताको १२ करोड नौ लाख रुपैयाँ ठगीको आरोप लागेको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङले आज पत्रकार सम्मेलन गरी पक्राउ पर्नेमा सहकारीका उपाध्यक्ष मोरङ उर्लावारी नगरपालिका–६ का अनिता गौतम, सचिव झापा भद्रपुर नगरपालिका–१४ का सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक विराटनगर–२ का मन्दीप खवास रहेको जानकारी दिएको छ ।
सञ्चालकहरु बचतकर्ताको रकम फिर्ता नगरी गत फागुन १ देखि सम्पर्कविहीन भएका थिए । फरार सञ्चालकविरुद्ध सहकारीका एक सय २१ जना बचतकर्ताले फागुन २८ मा जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी थिए । सोही आधारमा उनीहरुलाई पक्राउ गरिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिनुभयो ।