चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं. १ आँपटारीमा २२० केभीको नयाँ सबस्टेशन तयार भएको छ । आयोजना प्रमुख नारायण रेग्मीले दिएको जानकारी अनुसार अहिले सबस्टेशन परीक्षणको काम चलिरहेको छ । अर्को महिना सबस्टेशन चार्ज गरिने उहाँले जानकारी दिनुभयाे ।
‘सबस्टेशन तयार भयो, अर्को महिना चार्ज गर्ने योजनामा छौं, रेग्मीले भन्नुभयाे, ‘विभिन्न समस्याहरू भोग्दै केही ढिला भए पनि सबस्टेशन तयार भएको छ ।’ सबस्टेशनको केही दिन अगाडि नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ्गले अवलोकन गरी फर्किनुभएकाे थियाे ।
सबस्टेशनमा १६०÷१६० एमभीए क्षमताका दुई वटा पावर ट्रान्सफर्मर रहने छन् । मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गतका तयार भएको सबस्टेशनमा तनहुँ जलविद्युत आयोजना १४० मेगावाटबाट उत्पादित विद्युत पनि ल्याएर जडान गरिनेछ ।
नयाँ भरतपुर सबस्टेशन ‘ग्याँस इन्सुलेटेड सबस्टेसन (जीआईएस)’ प्रविधिमा आधारित छ । भरतपुरमा पहिल्यै सबस्टेशन रहेकाले अहिले नयाँ बनेको सबस्टेशनलाई नयाँ भरतपुर सबस्टेशन भनिएको हो ।
नयाँ भरतपुर र लमजुङको उदिपुरमा सबस्टेशन निर्माणका लागि भारतीय कम्पनी लार्चेन एण्ड टर्बो (एल एण्ड टी) सँग करिब २ वर्षअघि ठेक्का सम्झौता भएको थियो । झण्डै ३ अर्बको लागतमा भरतपुर उदिपुरमा सबस्टेशनको जिम्मा पाएको कम्पनीको म्याद आगामी जुन ३० सम्म छ । भरतपुरको नयाँ सबस्टेशन तयार भए पनि उदिपुरको तयार हुन अझै ४ महिना जति लाग्ने आयोजना प्रमुख रेग्मीले बताउनुभयाे ।
मर्स्याङ्गदी करिडोर अन्तर्गत नै मनाङ्गको धारापानी र लमजुङ्गको खुदीमा पनि सबस्टेशन बन्दैछन् । तिनीहरुको काम ६ महिना भित्र सक्ने लक्ष्य राखिएको छ । धारापानी, खुदीको सबस्टेशन तथा धारापानी देखि उदिपुरसम्मको ४६ किलोमिटर (९३+१६) प्रसारण लाइन निर्माणको जिम्मा चिनियाँ कम्पनी टिबीईएले पाएको हो । प्रसारण लाइनसहित दुई सबस्टेशन निर्माणको लागत ७ अर्ब रहेको छ ।
मर्स्याङ्गदी करिडोरको विद्युतलाई भरतपुसम्म ल्याएर जोड्न तनहुँको आँबुखैरेनीदेखि भरतपुरसम्म विद्युत प्रसारण लाइन बनाउने कामले भने खासै गति लिन सकेको छैन । आगामी सेप्टेम्बर महिनासम्म काम सकिसक्ने गरी ठेक्का सम्झौता गरिएको हो । यी प्रसारण लाइनबाट आउने विद्युतलाई भरतपुरको नयाँ सबस्टेशन हुँदै देशका विभिन्न भागमा लैजाने योजना प्राधिकरणको छ ।
source:-onlinekhabar