काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको पहिलो राष्ट्रपति डा रामवरण यादव आफूहरुको समर्थन र प्रस्तावमा निर्वाचित भएको बताउनुभएकाे छ।
एमालेका तर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता भएपछि सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले नेपालको पहिलो राष्ट्रपति डा यादवलाई आफूहरुको प्रस्तावमा नै निर्वाचित गराएको बताउनुभएकाे हाे।
उहाँले आफ्नो पार्टीले त्यसपछि क्रमशः आफ्नै उम्मेदवार उठाएको बताउनुभयाे। यस्तै सङ्घीय संसद्भवन नयाँ वानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै एमालेबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दिनुभएकी अष्टलक्ष्मी शाक्यले लोकतन्त्रमा विश्वास गर्नेहरुले स्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने बताउनुभयाे। उहाँले भन्नुभयाे, ''लोकतन्त्रलाई सुदृढ बनाउने हो भने सबैले यसबारे सोच्न जरुरी छ ।''
एमालेले आज बिहान एमाले उपाध्यक्ष शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । शाक्यको प्रस्तावकमा अध्यक्ष ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, नेताहरु छविलाल विश्वकर्मा, गोकर्ण विष्ट र रघुवीर महासेठ हुनुहुन्छ। त्यस्तै, समर्थकममा कृष्णगोपाल श्रेष्ठ, महेश बर्तौला, तुलसा दाहाल, भगवती न्यौपाने र यशोदा रिजाल छन्।
रासस