वीरगञ्ज । वीरगञ्ज स्थित ठाकुरराम बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनलाई लिएर विवाद उत्पन्न भएको छ । आक्रोशित विद्यार्थीहरुले विद्यार्थी कल्याण तथा खेलकुद शाखामा आगजनी समेत गरेका छन् । आगजनीबाट कोठामा रहेको केही कागजपत्र जलेको प्रहरीले जनाएको छ ।
आगजनीमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । अखिल क्रान्तिकारीका शिवम साह, अनेरास्ववियुका अभिषेक चौहान र सुजित गिरीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले आगो बेलैमा निभाईएकोले थप क्षति हुन नपाएको बताउनुभयाे । ‘विद्यार्थी कल्याण तथा खेलकुद शाखाको झ्याल खुल्लै रहेछ, प्लाष्टिकको बोतलमा प्रज्वलनशील पदार्थ सहित आगो लगाएर फालिदिएछन् ।’ उहाँले भन्नुभयाे ‘केहि कागजपत्र जलेको छ, आगो निभाउने क्रममा थप केहि भिजेको छ । बेलैमा आगो निभाइएकोले ठूलो क्षति हुन पाएन ।’
आगो नियन्त्रणका लागि वीरगञ्ज महानगरपालिकाको वारुण यन्त्र पनि ठाकुरराम बहुमुखी क्याम्पसमा पुगेको थियो । उनले पक्राउ परेकाहरुको आगजनीमा संलग्नता भए नभएको बारेमा अनुसन्धान भईरहेको समेत बताउनुभयाे ।
क्याम्पसका एक जना विद्यार्थी नेताका अनुसार निर्वाचन अधिकृतको कार्यालयले प्रारम्भिक मतदाता नामावली प्रकाशन गर्दा फर्जी नाम समावेश गरेपछि विवाद उत्पन्न भएको हो । झण्डै ८ सय विद्यार्थीको फर्जी नाम नामावलीमा समावेश भएको दावी विद्यार्थी संगठनका नेताहरुले गरेका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले फागुन २१ गते १० हजार ६ सय २१ जनाको नामावली प्रकाशन गरेको थियो । त्यो प्रारम्भिक मतदाता नामावली भएको उहाँहरुको भनाई छ । फागुन २५ गते दावी विरोध गर्ने क्रममा विद्यार्थी नेताहरुले मतदाता नामावलीमा नहुनुपर्ने विद्यार्थीको समेत नाम समावेश गरेको पत्ता लगाएका थिए । त्यसपछि विवाद उत्पन्न भएको थियो । जसले गर्दा निर्वाचन अधिकृतको कार्यालयले अन्तिम नामावली प्रकाशन गर्न सकिरहेको छैन ।
समस्या समाधानका लागि निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार गरेको छलफल पनि निष्कर्ष बिहिन भएको छ । निर्वाचन अधिकृतको कार्यालयले त्रुटि सच्याउने प्रतिबद्धता जनाउँदै निर्वाचन प्रक्रिया अघि बढाउन आग्रह गरेको थियो ।
फर्जी नाम समावेश भएको घटना बारे छानविन समिति गठन गरेर छानवीन गर्नुपर्ने, वदमासी गर्ने कर्मचारीलाई कारबाही गर्नुपर्ने, निष्पक्ष निर्वाचन गराउनुपर्ने माग उनीहरुले राखेका छन् । उनीहरुले विद्यार्थी कल्याण परिषद तथा निर्वाचन अधिकृतको राजीनामामा समेत मागेका थिए ।
नेपाल विद्यार्थी संघ ठाकुरराम बहुमुखी क्याम्पस एकाई समितिका निवर्तमान एकाई सभापति मनोज साहले घटनाबारे छानवीन हुनुपर्ने, त्रुटि गर्ने कर्मचारीलाई कारबाही हुनुपर्ने र निष्पक्ष निर्वाचन हुनुपर्ने माग आफूहरुले राखेको बताउनुभयाे ।
onlinekhabar