पोखरा । स्टार चिल्ड्रेन कास्की नेपालको सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार स्टार चिल्ड्रेनले गत
आर्थिक वर्ष २०७८÷७९ को सामाजिक लेखा जोखा कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमको स्वास्थ्य निर्देशनालय पोखराका बरिष्ठ स्वास्थ्य शिक्षा प्रशासन प्रमुख हेमन्त शर्मा पौडेलले उद्घाटन गर्नुभयाे । उहाँले संस्थाले बालबालिकाका क्षेत्रमा गरेको कार्यहरुको प्रंशसा गर्दै समस्या परेको अवस्थामा ३ वटै तहका सरकारसँग समन्वय गरेर अगाडी बढ्न सुझाव दिनुभयाे । उहाँले बालबालिकाको शिक्षा र रोजगारीका सवालमा पनि चुनौती हुनसक्ने भन्दै यसलाई दिगोरुपमा समाधानका लागि तयारी गर्न पर्नेमा जोड दिनुभयाे ।
जिल्ला स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बद्रीराजआचार्य बालबालिका संवेदनशिल क्षेत्र रहेको भन्दै बालबालिकाका क्षेत्रमा काम गर्ने संस्थहरु झनै संवेदनशिल हुन जरुरी रहेको बताउनुभयाे । गैसस महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष पदम पहारीले पोखरामा सञ्चालित बालगृहहरु सरकारी मापदण्ड अनुसार रहेको बताउनुभयाे । उहाँले सामाजिक परीक्षणले सुशासन र पारदर्शिताका हिसावले सरल रुपले बुझ्न सहयोग पुग्ने बताउनुभयाे । कार्यक्रममा पोखरा महानगरपालिका सामाजिक शाखाका बरिष्ठ अधिकृत तथा बाल कल्याण अधिकारी विष्णुमाया पौडेलले बालबालिका सम्बन्धी ऐन,नियममा रहेर बालगृह सञ्चालन गर्न आग्रह गर्नुभयाे । उहाँले पोखरा महानगर सहकार्यका लागि तयार रहेको बताउनुभयाे ।
राष्ट्रिय बाल अधिकार परिषद गण्डकी प्रदेश समन्वय अधिकारी बद्रीप्रसाद वाग्लेले बालअधिकार संरक्षण संवेदनशिल क्षेत्र रहेको बताउनुभयाे । उहाँले सरकारले तोकेको मापदण्ड अनुसार सञ्चालन गर्न आग्रह गर्नुभयाे । कार्यक्रममा अधिकारकर्मी बिजयकुमार प्रधान, मनोजकुमार गुरुङ, विदुर भण्डारी लगायतले बोलेका थिए ।
२०६० सालमा स्थापना भएको संस्थाले एच.आई.भी संक्रमित तथा प्रभावित बालबालिकाका क्षेत्रमा काम गर्दै आइरहेको छ । संस्थामार्फत हाल १८ जनाले आश्रय लिइरहेका छन् । संस्थाले बालगृह र नवजीवन केन्द्र गरि २ वटा परियोजना सञ्चालन गरिरहेको छ ।
संस्थाका कार्यवहाक अध्यक्ष तारा प्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार दीपेन्द्र श्रेष्ठले संस्थाको गतिविधिमा आधारित सामाजिक लेखा परीक्षण प्रस्तुती राख्नुभएकाे थियाे । सहभागिहरुबाट उठेका जिज्ञासाको संस्थाका प्रमुख कार्यकारी अधिकृत मोहन त्रिपाठीले प्रष्ट पार्दै आगामी दिनमा सुधार गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएकाे थियाे ।