काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल प्रतिक्रियावादीहरुको सेवामा समर्पित भएर लागिपरेको आरोप लगाउनुभएको छ ।
विधि र प्रक्रिया भन्दै नेपालले प्रतिक्रियावादीहरुको सेवाका लागि पार्टी विभाजन गरेर उनीहरुलाई चोइटो बुझाएको अध्यक्ष ओलीको जिकिर थियो । शुक्रवार ललितपुरको च्यासलस्थित एमाले केन्द्रिय कार्यालयमा आयोजित पार्टी निकट नेपाल खेलकुद महासंघको नवनिर्वाचन केन्द्रिय कमिटीको शपथग्रहण समारोहमा बोल्दै उहाँले राजनीतिमा इमान्दार प्रयास नगरेका कारण माधव नेपालहरुले सफलता हासिल गर्न नसकेको तर्क समेत गर्नुभयो ।
अध्यक्ष ओलीले दुई तिहाई पुगेको नेकपालाई कमजोर बनाएर प्रचण्ड, माधव नेपालहरुले राजनीतिमा बेइमानी गरेको बताउनु भयो । खेलाडीहरुलाई पनि फल खेलेर श्रेष्ठता हासिल हुन्छ भन्ने भ्रम नपाल्न पनि आग्रह गर्नुभयो । निरन्तरको इमान्दार प्रयासबाट मात्रै खेलाडीहरुले पनि सफलता हासिल गर्नसक्ने उल्लेख गर्दै उहाँले सोही अनुसारको अघि बढन खेलाडीहरुको ध्यानाकर्षण गराउनु भयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘हामीले हाम्रै आन्दोलनमा देखेका छौं । फउल खेल्नेहरुले दुई तिहाईमा पुगेको पार्टीलाई कमजोर बनाए । दुई तिहाईको हैसियतको पुगेको आन्दोलनलाई विभाजित गराए । विधि, प्रक्रिया भन्दै प्रतिक्रियावादीहरुको सेवामा समर्पित भएर पार्टी फुटाएर लगेर चोइटो प्रतिक्रियावादीहरुलाई बुझाउने दुष्चेष्टा गरे । सबै गरे । तर तिनीहरुले वास्ताविक सफलता हासिल गर्न सकेनन् । क्रियशनमा सफलता प्राप्त गर्नका लागि अभ्यासद्वारा श्रेष्ठता हासिल गर्नुपर्दछ । श्रेष्ठता हासिल बेइमानीले हुँदैन । इमान्दार प्रयासबाट हुन्छ । त्यसकारण मैले शुरुमै भने सफलताको पुँजी, सफलताको रहस्य इमान्दार प्रयास हो ।’
अध्यक्ष ओलीले एम्बाप्पे, मेसीजस्ता खेलाडीहरु नेपालमा पनि हुनेसक्ने भन्दै त्यसका लागि ध्यान दिनपनि नेपाल खेलकुद महासंघलाई सचेत गराउनु भयो । उहाँले देखिनेगरी खेल क्षेत्रको विकास गर्न र राजनीतिलाई पनि सही बाटोमा हिँडाउने काममा महासंघ सफल हुने विश्वास समेत व्यक्त गर्नुभयो ।