काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मुस्ताङमा बौद्ध विश्वविद्यालय खोल्न सरकारले स्वीकृति नदिएको बताउनुभएको छ ।
एमाले अध्यक्ष केपी ओलीले मुस्ताङमा भारतलाई बौद्ध विश्वविद्यालय खोल्न दिएर सरकारले चीनमाथि गद्दारी गरेको आरोप लगाईरहेका बेला प्रधानमन्त्री दाहालको यस्तो जवाफ आएको हो । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले अहिले मुस्ताङको विषयमा चर्चा भइरहेको उल्लेख गर्दै त्यहाँ स्थानीय तहले विश्वविद्यालय भन्दा पनि कलेज खोल्ने विषयमा धेरै पहिलेदेखि कुरा चलाईरहेको आफूले पाएको स्पष्ट पार्नुभयो ।
एमाले अध्यक्ष ओलीको नाम नलिई प्रधानमन्त्री दाहालले आफूले सो चर्चाको विषयमा कसैलाई आरोप÷प्रत्यारोप गर्ने पक्षमा नरहेको बताउनु भयो । उहाँले मुस्ताङमा भएको खनिज पदार्थबारे स्वदेशमा भन्दा पनि विदेशीहरु बढी जानकार रहेको आफूले सुनेको बताउनु भयो । प्रधानमन्त्री दाहालले मुस्ताङमा भएको अमूल्य खनिज पदार्थको ठिक ढंगले उपयोग गर्न सकियो भने मुलुकको आर्थिक स्थितिमा आमूल परिवर्तन ल्याउन सकिने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अहिले मुस्ताङको विषयलाई लिएर बडो चर्चा परिचर्चा हुने गरेको छ । मुस्ताङमा युनिभर्सिटी खोल्ने रे । मुस्ताङमा अलि धेरै मान्छेको ध्यान छ । मुस्ताङको बारेमा धेरै पहिलेदेखि चर्चा, परिचर्चा हुने गरेको पनि छ । मुस्ताङमा अमूल्य खनिज पदार्थहरु छन् । र, त्यो खनिज पदार्थको उत्पादन र उत्खनन् त्यसको प्रेसेस मात्रै हामीले ठिक ढंगले गर्नसक्यौ भने सयौं वर्षका लागि नेपालीहरुको आर्थिक स्थिति संसारकै उच्च बनाउन सकिन्छ रे भन्ने चर्चा पनि छन् ।
हामी नेपालीहरुले भन्दा विदेशीहरुले अघि बढी मुस्ताङ र त्यहाँ भएको प्राकृतिक स्रोत खनिज पदार्थबारे बढी जानकारी राख्छन भन्ने पनि तपाई हामीले सुन्दै आएको पनि हो । हिजोआज एउटा चर्चा भएको पनि तपाईहरुले सुन्नुभएको छ मुस्ताङकै विषयमा । र, मुस्ताङमा बुद्धको युनिभर्सिटी बौद्ध युनिभर्सिटी खोल्ने कुरा भन्ने पनि आयो ।
पक्कै पनि त्यहाँ स्थानीय तहबाट चाहीँ कलेज खोल्ने, युनिभर्सिटी खोल्ने भन्दा पनि कलेज खोल्ने चर्चा चाहीँ धेरै पहिलेदेखि भएको रहेछ । तर नेपाल सरकारले कहीँकतै स्वीकृति दिएको स्थिति होइन । तर जे भएपनि मुस्ताङको चर्चा यतिधेरै किन गर्छन् ।
मैले अन्त जान खोजेको होइन । मैले कसैलाई अरोप र प्रत्यारोप गर्न खोजेको पनि होइन । तर, मुस्ताङको चर्चा यति धेरै किन हुने गरेको छ । र, मुस्ताङको चर्चा आउने बित्तिकै अलि बढी हामी नेपालीहरु संवेदनशील किन हुने गर्छौं भन्दा हाम्रो प्रकृतिको गर्भभित्र धेरै यस्ता वस्तुहरु, यस्ता खनिजहरु छन् । जसलाई हामीले ठिक ढंगले अनुसन्धान गर्यौं भने ठिक ढंगले अध्ययन गरेर उत्खनन् ग¥यौ भने त्यसले नेपालमा एउटा रिभोलुशनरी चेन्ज ल्याउनसक्छ भन्ने कुराको प्रमाण हो त्यो । मुस्ताङमात्रै होइन । देशका विभिन्न भागमा विभिन्न किसिमको सोतहरु छन् । पेट्रोल र तेल उत्पादनको सम्भावनामा पनि हामी धेरै अगाडि बढेका छौं ।’