काठमाडौं । महिला साधक ‘योगमाया’को जीवनमा आधारित बृत्तचित्र फिल्म (योगमाया) निर्माण हुने भएको छ । यो फिल्मको काठमाडौंमा एक समारोहबीच निर्माण घोषणा गरिएको छ । यो बृत्तचित्रलाई भीमादेवी मल्टी क्रियशन प्रा.लि. र आरम्भ नेपालले संयुक्त रुपमा निर्माण गर्ने भएको छ ।
योगमाया बृत्तचित्र फिल्मका लागि कलाकारहरु सन्देश बसौला, नुभिषा उप्रेती, राजकुमार, बासुदेब खनाल, रुद्र गुर्माछान मगर, सरिता राजोपाध्याय, मिश्री थापालगायतका कलाकारहरु चयन भएको यो बृत्तचलचित्रको घोषणा समारोहमा जानकारी गराईएकाे हाे ।

योगमाया बृत्तचलचित्रसँगै कार्यक्रममा नुभिव फाउन्डेशनको पनि घोषणा गरिएकाे हाे । निर्देशक भिमा मैनालीको दिवँगत छोरा कलाकार नुभिव उप्रेतीको जन्म जयन्तीको अवसर पारेर सो फाउन्डेशनको घोषणा गरिएको हो ।

मानव शास्त्रीय अनुसन्धानमा आधारित योगमायालाई शुरुमा बृत्तचित्र र त्यसपछि चलचित्रको रुपमा निर्माण गरिने अनुसन्धानकर्ता तथा निर्देशक भिमा मैनालीले कार्यक्रममा बताउनुभयाे । राणा शासनको बेला स्वतन्त्रताको लागि योगमायाले बृहत सँघर्ष गरेर जलसमाधिसमेत लिएकाले यो बृत्तचलचित्र उहाँकै सँघर्षकथामा केन्द्रित रहने पनि निर्देशक भिमाले बताउनुभयाे । यस्तै आफ्नो किशोराबस्थाको छोरा नुभिव उप्रेतीको कलेजबाट अपहरणपश्चात हत्या भएकाले यस्तो हत्या अरुको नहोस भनेर अभियानका लागि नुभिव फाउन्डेसनको स्थापना गरिएको पनि भिमाले बताउनुभयाे । बाल कलाकारको रुपमा चर्चा कमाएका नुभिवको काठमाडौंको एक कलेजबाट अपहरण पश्चात पोखरामा हत्या भएको अवस्थामा शब भेटिएको थियो ।
योगमाया बृत्तचलचित्र घोषणा समारोहमा बोल्दै अग्रज निर्देशक यादव खरेलले भन्नुभयाे,‘बिगत दुई दशकदेखि अभिनयमा
आफ्नो छुट्टै परिचय बनाएकी भिमाले योगमायामाथि पनि यथार्थपरक चलचित्र बनाउनेमा म विश्वस्त छु ।’
अग्रज कलाकार तथा निर्देशक लय सँग्रौलाले कार्यक्रममा बोल्दै भन्नुभयाे,‘मैले धेरैवटा टेली फिल्ममा बालकलाकारको रुपमा अभिनय गराएका नुभिवको एकवर्षअघि अपहरणगरी हत्या भएको खबरले अहिलेसम्म पनि म दुःखी छु । यो प्रकरणका अपराधीहरुलाई चाँडो भन्दा चाँडो कारवाही होस भन्ने म माग गर्दछु ।’ आफ्नो कलाकारलाई गुमाउँदाको पीडा सम्झेर उहाँ कार्यक्रममा भावुक हुनुभयाे। यस्तै साहित्यकार निनु चापागाईंले योगमाया आयुर्वेदिक विश्व विद्यालयको स्थापनाका लागि आफुहरुले काम गरिरहेको बेला उहाँको जीवनीमा आधारित बृत्तचलचित्र निर्माण हुँदै गरेको कुराले हर्षित भएको बताउनुभयाे । योगमायाले त्यतिबेलाको नेपाली समाजमा अग्रणी भूमिका निर्वाह गरेकोबारे पनि चापागाईंले कार्यक्रममा चर्चा गर्नुभयाे ।
त्रिभुवन विश्व विद्यालयका प्राध्यापक सुरेश ढकालले कार्यक्रममा भन्नुभयाे,‘योगमायामाथि भिजुअल एन्थ्रोपोलोजीमा एम फिल गर्दैगरेकी भिमाले योगमायामाथि नै अनुसन्धानमुलक चलचित्र बनाउन लागेको कुराले हामी खुसी छौं । यो सार्थ फिल्म बनोस भन्ने कामना गर्दछु ।’
अचेल समुहले संयोजन गरेको सो कार्यक्रममा योगमायाको बारे गरिएको स्थलगत रिपोर्टिङमा आधारित छोटो बृत्तचित्र पनि प्रदर्शन गरिएको थियो ।