काठमाडौं । पाकिस्तानका अधिकारीहरूले देशको दक्षिणपश्चिममा भएको आत्मघाती आक्रमणमा कम्तीमा नौ प्रहरीको मृत्यु भएको बताएका छन्।
यो घटना बलुचिस्तान प्रान्तको बोलान शहरमा भएको हो । मारिएका जवानहरू बलुचिस्तान कन्स्टेबुलरीका थिए। बीबीसी उर्दू सेवाको रिपोर्ट अनुसार यस घटनामा थप १० जना घाइते भएका छन् ।
एक अधिकारीले भने कि क्याम्ब्री ब्रिजमा एक मोटरसाइकलले बलुचिस्तान कन्स्टेबुलरीको गाडीलाई ठक्कर दिएको थियो। गाडीमा सवार सुरक्षाकर्मीहरु आइतवार सकिएको सिबी मेलामा ड्युटी गरी सिबीबाट क्वेटा फर्किरहेका थिए ।
अधिकारीहरूका अनुसार, “गाडीमा आत्मघाती हमलाको सम्भावनालाई नकार्न सकिँदैन।”
पाकिस्तानमा विगतमा सुरक्षा बललाई निशाना बनाएर धेरै आक्रमण भएका छन् । पछिल्लो आक्रमणको जिम्मेवारी कसले लियो भन्ने स्पष्ट भएको छैन । यस क्षेत्रमा लामो समयदेखि पृथकतावादीहरू सरकारविरुद्ध लडिरहेका छन्।