काठमाडौं । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेश सभाका आफ्ना सांसदलाई मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन निर्देशन दिनु भएको छ ।
सुदूरपश्चिम माओवादी संसदीय दललाई पत्र पठाउँदै अध्यक्ष प्रचण्डले शाहलाई विश्वासको मत दिएर अहिलेको सरकार जोगाउन निर्देशन दिएका उहाँको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले केन्द्रमा बनेको नयाँ गठबन्धनअनुसार काम गर्न पनि उहाँले भन्नुभएको छ ।
हिजो बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले कांग्रेसले संवादको वातावरण नबनाएको र मुख्यमन्त्रीमा आलोपालोको विषयमा छलफल नभएको भन्दै यथास्थितिमा विश्वासको मत नदिने निर्णय गरेको थियो । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिँदै हुनुहुन्छ ।
नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिए पनि माओवादीले मत दिएमा मुख्यमन्त्री शाहको पक्षमा विश्वासको मत पुग्ने देखिन्छ । आज दिउँसो १ बजेका लागि प्रदेश सभाको बैठक आह्वान गरिएको छ । एमालेका राजेन्द्र सिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ठूलो दलको हैसियतमा कांग्रेसका शाहलाई गएको माघ २६ मा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । नागरिक उन्मुक्ति पार्टीले पनि लिखित सहमति विनाविश्वासको मत नदिने अडान लिएको छ ।
प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसुदूरपश्चिम प्रदेश