नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल देशको पक्षमा उभिन नसक्ने अवस्थामा पुगेको बताउनुभएको छ ।
विगतमा मानवताबिरुद्धको अपराध गरेका कारण प्रधानमन्त्री दाहाल देश र जनताको पक्षमा उभिनै नसक्नेगरी कायरता प्रदर्शन गर्न पुग्नुपरेको महासचिव पोखरेलको तर्क छ । २४ औं यदु स्मृति दिवसको अवसर पारेर आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले विगतमा अवलम्वन गरेको उग्रवामपन्थी अतिवादका कारण प्रधानमन्त्री दाहालसँग देशलाई सही बाटोमा हिँडाउने सामथ्र्य नै नभएको दावी समेत गर्नुभयो । महासचिव पोखरेलले पाँच दलीय गठबन्धन असफल भएपछि आफूहरुले देशलाई जोगाउनका लागि प्रचण्डलाई प्रधानमन्त्री बनाउनु परेपनि उहाँले त्यसलाई धान्न नसकेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘पार्टी भित्रको अन्तरसंघर्षमा सही कुरालाई निषेध गर्दाखेरी के हुँदो रहेछ भन्ने कुरा सायद आज प्रचण्डले व्यहोरिरहेका पीडाहरु त्यसैसँग जोडिएका छन भन्ने मलाई लाग्दछ । यदु गौतमका कुराहरु सुनेको भए आज प्रचण्ड आफ्नो देशको पक्षमा उभिन नसक्ने मुलुकको प्रधानमन्त्री यस्तो बिडम्बनापूर्ण राजनीतिको यात्रा गर्नु पथ्र्यों उहाँले । एउटा क्रान्तिकारी, जसले देशको स्वाधिनता, साम्राज्यवाद, सामन्तवादबिरुद्धको नेतृत्व गर्यो । आज मुलुकको बारेमा फैसला गर्नुपर्दा चाहीँ उभिन सक्ने अवस्थामा छैन । के कारणले गर्दाखेरी छैन भने उग्रवामपन्थी अतिवादका कारणले गर्दाखेरी गरेको मानवताविरुद्धको अपराधका कारणले गर्दा ऊ यति कायर बनेको छ कि ऊ देशको पक्षमा उभिन सक्दैन । जनताको पक्षमा उभिन सक्दैन । तर शक्ति संघर्षमा वडा चलाखीका साथ नेतृत्व प्राप्त त गरेको छ । तर, देशलाई सही बाटोमा हिँडाउने सामथ्र्य छैन । किनकी विगतमा अवलम्वन गरेको बाटो गलत थियो भन्ने कुरा त्यो कायरताले प्रकट गर्छ भन्ने मलाई लाग्दछ । कुनैपनि आन्दोलन सही हुन्थ्यो भने एउटा नेता कायम हुने थिएन । देशको पक्षमा उभिनका लागि, स्वाधिनताको पक्षमा उभिनका लागि, आज अघिल्लो निर्वाचनको माध्यामबाट जनताले जनादेश दिए । पाँच दलीय गठबन्धन जनताले अस्वीकार गरिदिएका थिए । झन्डै दुई तिहाई जनमत लिएर चुनावमा गएको पाँच दलीय गठबन्धन बहुमत गुमाउन पुगेको थियो । हो, नेकपा एमालेले पनि चाहेको जनमत पाउन सकेको थिएन । हामीले भनेको थियौ–अहिलेको जनादेश नेकपा एमालेले नेतृत्व दावी गर्नसक्ने प्रकृतिको छैन । तर पाँच दलीय गठबन्धन असफल भइसकेको छ भन्ने सन्दर्भमा त्यसबाट मुलुकलाई जोगाउनुपर्छ भन्ने मान्यताको आधारमा हामीले माओवादी केन्द्रसँग एकताका लागि पहल गर्यौं । सहकार्यका लागि पहल गर्यौं । पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनायौं । वास्तवमा भन्नु हुन्छ भने देश वडा संकटमा परेको बेलामा, आर्थिक संकट परेका बेलामा नयाँ सरकार बनेपछि केही आशाको सञ्चार पनि भयो । वित्तीय संकट सुधार उन्मुख हुन थालेको थियो । तर पुष्पकमल दाहाल प्रचण्डले देशको हीतको यो कदमलाई बोक्न सक्नुभएन । जनताले रुचाएको शासनको नेतृत्व गर्न चाहनुभएन । र, उहाँ असफल भइसकेको पाँच दलीय गठबन्धन ब्युताउने ध्याउन्नमा लाग्नुभयो । के का लागि लाग्नुभयो भन्ने कुरा चाहीँ हामी सजिलै अनुमान गर्नसक्छौं । आज नयाँ समिकरण भत्काउने उद्देश्य भनेको चाहीँ कुनै जनताको चाहनाको परिणाम थिएन । नयाँ समिकरण वाह्य शक्तिका लागि मन परेको नै थिएन । नयाँ समिकरण बनेपछि विभिन्न शक्ति राष्ट्रहरु नेपाल आउने, चलखेल गर्ने खालको कुरा भयो । र, त्यसको परिणाम स्वरुप समिकरण बदल्ने खालको कुरा भयो ।’
महासचिव पोखरेलले विदेशी चलखेलका कारण मुलुकमा नयाँ समिकरण बनेको भन्दै त्यो राष्ट्र र जनताको पक्षमा नरहेको पटकपटक दोहोर्याउनु भयो । उहाँले मुलुकलाई सही बाटोमा अघि बढाउनका लागि देशभक्त, वाम–लोकतान्त्रिक शक्तिहरुबीच बलियो सहकार्यको आवश्यक्ता रहेको पनि बताउनु भयो ।
newsagencynepal