काठमाडौं । विभिन्न मुद्दा र माग लिएर दिनहुँ भिडभाड भइरहने माइतीघर मण्डला परिसरमा आज फरक दृश्य देखियो । उखु किसानदेखि विभिन्न समुदायका पहिचान, लोकतन्त्र, नागरिक खबरदारीका कैयन विषयमा दैनिकजसो सङ्घर्षका कार्यक्रम भइरहने माइतीघरमा ‘फगुवा उत्सव २०२३’ को माहोलले सबैको ध्यान त्यसतर्फ खिचेको देखिन्थ्यो ।
माइतीघर सडक भइ आवतजावत गर्ने सर्वसाधारणदेखि सवारी साधनमा घुइँकिनेहरुले पनि माइतीघर पुगेपछि क्षणिक रुपमा भए पनि फरक दृश्यको दृश्यावलोकन गर्न भ्याए । दैनिक विभिन्न समूहको आन्दोलन भइरहने माइतीघरमा आजको दृश्यलाई सबैले उत्सुकतापूर्वक लिएका थिए ।
फागुको रङ्ग र अबिरले माइतीघरको सडक रङ्गिएको थियो । जम्मा भएका व्यक्तिको रङ्गले रङ्गीचङ्गी वेशभूषाले भिडतर्फ आकर्षण पथ्र्यो । त्यो दृश्यले सडकको माहोललाई बेग्लै उल्लासमय बनाएको थियो । माइतीघर मण्डलामा रङ्गिएको रङ्गमा झुम्मिएको जनसाधारणको भिडले कार्यक्रमको महिमा बढाएको थियो ।
आन्दोलनका क्रममा हुनसक्ने सम्भावित जोखिम नियन्त्रणका लागि हातहतियारसहित सुरक्षा पहरा दिइरहेका उल्लेख्य संस्थाका प्रहरी र सङ्घर्षरत समूहको हूललाई देखिरहनेका लागि बिल्कुल फरक दृश्य भएकाले उनीहरूको ध्यान त्यसतर्फ केन्द्रित हुनु स्वाभाविक पनि थियो ।
मिथिला संस्कृति समाजले आयोजना गरेको उक्त फगुवा महोत्सवलाई उल्लासमय बनाउन मिथिला समाज र परिवार मात्र होइन आम सर्वसाधारणको साथले कार्यक्रमको रौनक थपेको थियो । त्यसै पनि माइतीघर मण्डलाको रङ्गीचङ्गी दृश्यलाई वसन्तको सङ्घारमा रङ्गीचङ्गी फूल र बोटबिरुवाका साथै मण्डला आसपास बनेका गगनचुम्बी आकर्षक भवनले सहजै ध्यान खिचिरहेको हुन्छ । सधैँ देखिरहनेभन्दा शनिबारको फरक दृश्यले जो कोहीलाई मोहित तुल्याउँथ्यो ।
होलीको पूर्वसन्ध्यामा होली पर्वको महत्व र महिमाबारे मिथिला संस्कृतिभन्दा फरक समुदायलाई जानकारी गराउने उद्देश्यले फगुवा महोत्सव आयोजना गरिएको मिथिला संस्कृति समाजका अध्यक्ष वीरेन्द्र ठाकुरले बताउनुभयो। उहाँले मधेसमा फगुवाका रुपमा चिनिने होली पर्वका अवसरमा काठमाडौँमा बसोबास गर्ने तराईवासीलाई एक ठाउँमा जम्मा पारेर अन्य समुदायलाई पनि देखाउने लक्ष्यका साथ फगुवा उत्सव मनाइएको हो। होलीको सामाजिक, सांस्कृतिक र धार्मिक महत्व छ ।