मुगु । विद्युत् उत्पादन क्षमताका हिसाबले देशकै दोस्रो स्थानमा रहेको कर्णाली प्रदेशका केही जिल्लासहित मुगुवासी अँध्यारोमा नै रात कटाउन बाध्य छन् । आगामी २ वर्षमा देशका सबै घरधुरीमा विजुली पुर्याउने सरकारको लक्ष्य छ ।
अहिले वैकल्पिक ऊर्जासहित ९४ प्रतिशत जनसंख्या विजुलीको पहुँचमा छ । २०७८ सालको जनगणनाअनुसार ६६ हजार ६ सय ५८ जनसंख्या रहेको मुगुमा अहिलेसम्म करिब ६१ प्रतिशत अर्थात् ४० हजार मुगुका नागरिक विद्युतको पहुँचभन्दा बाहिर रहेको पाइएको हो।
मुगुमा ४० हजार ३०० अर्थात् ६१ नागरिक अहिले पनि टुक्कीकै भरमा रात कटाउन बाध्य रहेको तथ्यांकले देखाएको छ । जसमा मुगुमा २६ हजार ३०० जना अर्थात् ३९ प्रतिशत नागरिक विद्युतको पहुँचमा रहेको बताइएको छ ।
विद्युत् उत्पादनको क्षमता र सम्भावना रहेको मुगुमा पर्याप्त लगानी नहुँदा नागरिक बत्तीबिना अँध्यारोमा बस्न बाध्य भएको यहाँका नागरिकहरूले बताएका छन् ।
मुगुका चारवटा स्थानीय तहका ४५ वडामध्ये करिब ९ वटा वडामा मात्र विद्युतको पहुँच पुगेको पाइन्छ । विशेष गरेर छायाँनाथ रारा नगरपालिकाका करिब २६ हजार जनसंख्या रहेको नगरपालिकामा १४ वटा वडा मध्ये वडा नं १०, ११, १२, र १४ वडामा हालसम्म विद्युतको पहुँचमा रहेका छैनन ।
बाँकी १० वटा वडा र करिब १९ हजार जनसंख्या विद्युतको पहुँचमा रहेको छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामले बताउनुभयो । यस्तै ९ वडा रहेको मुगूम कार्मारोङ्ग गाउँपालिकाको वडा नं ७ र ८ मा विद्युत् पुगेको छैन भने १ नं वडामा आधा मात्र विद्युतको पहुँचमा रहेको छ ।