काठमाडौं । गुल्मीको एउटा विद्यालयमा कक्षाकोठा अभाव भएपछि एउटै कोठामा एकै समयमा २ शिक्षिकाले पढाउँदै आएका छन् ।
रेसुङ्गा नगरपालिका–१४ पराल्मीस्थित जन विकास माध्यमिक विद्यालयमा नर्सरी र अर्को कक्षाका विद्यार्थीलाई एउटै कोठामा एकैपटक पढाउनु परिरहेको छ । एउटै कोठामा फरक कक्षाका विद्यार्थीलाई दुई शिक्षिकाले पढाउँदा सिकाइमा बाधा पुग्ने गरेको छ ।
नर्सरी तहका विद्यार्थीलाई पढाउँदै गर्नुभएकी शिक्षिका निर्मला पोखरेलले सिकाइ प्रभावकारी हुन नसकेको गुनासो गर्नुभयो । ‘हामी त बाध्य भएर यसरी पढाउँदै छौँ,’ उहाँले भन्नुभयो, ‘विद्यार्थीलाई पढ्न असहज भएको छ, एकैपटक एउटै कोठामा फरक कक्षाका विद्यार्थीलाई २ जनाले पढाउँदा समस्या नै हुन्छ ।’
दुवै कक्षाका गरी ३० भन्दा बढी विद्यार्थीलाई यसरी एउटै ठाउँमा पढाउनु परिरहेको छ । सिकाउन आफूहरुलाई पनि असहज भएको र बालबालिकाको सिकाइ प्रभावकारी हुन नसकेको अर्की शिक्षिका रविना पोखरेलले बताउनुभयो । आफूहरुले पढाउँदा आवाज ठोक्किएर दुवैतर्फको सिकाइमा समस्या हुने गरेको उहाँको भनाइ छ ।
पुरानो जीर्ण भवन भत्काएर नयाँ भवन बनाउने क्रममा विद्यार्थीलाई यसरी पढाउनुपरेको प्रधानाध्यापक लोकनाथ पोखरेलले बताउनुभयो । नयाँ चार कोठे पक्की भवन निर्माण भएपछि समस्या समाधान हुने उहाँ बताउनुहुन्छ । कुल ५० लाख रुपैयाँको लागतमा भवन बनाइँदैछ ।