काठमाडौं । आईसीसी १९ वर्षमुनिको विश्व कप एसिया क्षेत्र छनोटमा मलेसियाले नेपाललाई ७३ रनको सामान्य लक्ष्य दिएको छ ।
यूएईमा टस जितेर ब्याटिङ गरेको मलेसिया ३५ ओभर ३ बलमा ७२ रन बनाउँदा अलआउट भयो । मलेसियाका लागि मुहम्मद मलेकले सर्वाधिक २६ रन बनाए । बलिङतर्फ नेपालका दिपेश कँडेलले १० ओभरमा ११ रन दिएर ४ विकेट लिए । यस्तै आकाश चन्दले ३, मिलन बोहराले २ र सुवास भण्डारीले १ विकेट लिए ।
नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ९६ रन, दोस्रो खेलमा कुवेतलाई २ सय ४३ रनको फराकिलो अन्तरले र तेस्रो खेलमा हङकङलाई ९ विकेटले हराएको थियो । नेपालले बिहीवार घरेलु टोली यूएईसँग खेल्नेछ ।
नेपालसहित सिङ्गापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक यूएई ६ टोली सहभागी प्रतियोगिताको शीर्ष टोलीले आउँदो वर्ष श्रीलङ्कामा हुने १९ वर्षमुनिको विश्व कप खेल्न पाउनेछ ।