पोखरा । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशम बहादर जुग्जाली मगरले जनजातिले नेतृत्व गरेको क्षेत्र सफल भएको भन्दै मुलुकको नेतृत्व जनजातिले गर्न आवश्यक रहेको बताउनुभएकाे छ ।
नेपाल मगर संघको ४१ औं स्थापना दिवसको अवसरमा नेपाल मगर संघ कास्कीले आयोजना गरेको मगर एकता दिवसलाई सम्बोधन गर्दै उनले यस्तो अभिव्यक्ति दिनुभएकाे हाे ।
उहाँले मुलुकको समृद्धिका लागि जनजातिले देशको नेतृत्व गर्न आवश्यक देखिएको उल्लेख गर्नुभयाे । देशको महत्वपूर्ण क्षेत्रमा जनजातिले नेतृत्व गर्न आवश्यक छ, जनजातिले नेतृत्व गरेको क्षेत्रमा सफलता मिलेको छ, मन्त्री जुग्जालीले भन्नुभयाे,कुलमान घिसिङले उर्जामा सफलता दिलाउनुभयाे, महावीर पुनले बन्द अवस्थामा रहेको आविष्कार केन्द्र सञ्चालनमा ल्याउनुभयाे । त्यसैले यो एक सफलताको उदाहरण हो ।’

पर्यटनमन्त्री जुग्जाली मगरले जनजातिले नेतृत्व गरेको क्षेत्रमा सफलता पाएको भन्दै अब देशको कार्यकारी पदमा जनजातिले नेतृत्व गर्न अधिकार खोज्नै पर्नेमा जोड दिनुभयाे । उहाँले फरक प्रसंगमा बोल्दै पोखरा अन्र्तराष्ट्रिय विमानस्थल सञ्चालन गर्न पोखराको मात्र नभएर गण्डकी प्रदेशका ग्रामीण क्षेत्रमा रहेका पर्यकीय क्षेत्रको प्रचार र पूर्वाधार विकास गर्न आवश्यक रहेको बताउनुभयाे ।
पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आयो, अहिले फोटो खिच्ने र टिकटक बनाउने भन्दा अरु भएन, उहाँले भन्नुभयाे । अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन गर्न पोखराको मात्र नभएर गण्डकी प्रदेशका सबै जिल्लाको पर्यटकीय क्षेत्रको विकास गर्न सके मात्र विमानस्थल सञ्चालन गर्न सहज हुनेछ ।’
उहाँले मगर जातिले विदेशी मोह त्यागेर निजामती क्षेत्रमा प्रवेश गर्न आवश्यक रहेको बताउनुभयाे । मगर तथा जनजाति समुदायहरु विदेशी मोहमा बढी क्रियाशिल छन्, यसलाई रोक्न जनजाति समुदायले निजामती सेवा प्रवेशका लागि लोकसेवाका कक्षा सञ्चालन गर्न आवश्यक छ, तब मात्र जनजाति समुदायको केही हदसम्म विकास र उत्थान
हुन्छ ।’
यस्तै कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले मगर तथा जनजाति समुदायले देश र जनताका लागि महत्वपूर्ण योगदान दिएको धारणा राख्नुभयाे । मुलकु जोगाउन र बनाउन मगर तथा जनजाति समुदायको महत्वपूर्ण योगदान छ, केसीले भन्नुभयाे। देश र जनताका लागि केही गर्नुपर्छ भनेर इतिहास कालदेखि हरेक क्षेत्रमा जनजाति समुदायको योगदान रहेको छ ।’
नेपाल मगर संघ गण्डकी प्रदेशका उपाध्यक्ष तारा थापा मगरले मगर जातिको भाषा संस्कृतिलाई पाठ्यक्रममा समावेश गर्नुपर्ने तर्क राख्नुभयाे । यसैगरी तमु धिं नेपाल कास्कीका अध्यक्ष हुम बहादुर गुरुबले राज्यको कार्यकारी
क्षेत्रमा रहेर काम गर्न जनजाति समुदाय एकजुट हुन आवश्यक रहेको बताउनुभयाे ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशका महासचिव सुजन लामा, नेपाल मगर विद्यार्थी संघका सल्लाहकार बालकृष्ण काउछा मगर लगायतले बोल्नुभएकाे थियाे ।
नेपाल मगर संघको ४१ औं स्थापना दिवसको अवसरमा पोखराको चिप्लेढुङ्गाबाट सुरु भई झाँकी तथा र्रयाली महेन्द्रपुल, नयाँबजार, लखनचोक हुँदै पोखरा रंगशालास्थित मगर संघ कास्कीको सभाहलमा गएर कोण सभामा परिणत भएको थियो ।