काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले राजसंस्था पुनस्र्थापना गर्ने भन्दै आन्दोलनको कार्यक्रम घोषणा गर्नुभएको छ ।
राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाऊ महाभियानको नाममा मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले यही फागुन २० गतेबाट राजसंस्था पुनस्र्थापना गर्नका लागि भन्दै आन्दोलनको कार्यक्रम घोषणा गर्नुभएको हो ।
नयाँ बानेश्वरस्थित संघीय भवनको दक्षिण गेट अगाडि प्रेम आचार्यले आत्मादाह गरेको स्थानमा आन्दोलनको कार्यक्रम शुरु गर्ने जानकारी दिँदै प्रसाईंले त्यसमा सहभागी हुन पनि सबैलाई आह्वान गर्नुभयो । त्यसक्रममा उहाँले आन्दोलनमा आफूहरुले २०४७ सालको संविधान लागू गर्नुपर्ने, हिन्दु राष्ट्र कायम गर्नुपर्ने, कर्मचारी र तल्लो तहका सुरक्षाकर्मीहरुको मासिक तलव कम्तिमा १ लाख ५० हजार पु¥याउनुपर्ने लगायतका १५ बुँदे माग प्रश्तुत गर्ने समेत बताउनु भयो ।
कैदी बन्दीहरुलाई जेलमुक्त गराई जेलहरुलाई श्रम शिविरमा रुपान्तरण गर्नुपर्ने, उच्च शिक्षा हासिल गर्न विदेश जानेहरुलाई यही पढ्ने वातावरण बनाउनुपर्ने, बेरोजगार युवाहरुलाई बिना धितो ऋण उपलब्ध गराई रोजगारी सिर्जना गर्नुपर्ने लगायतका माग पनि सरकार समक्ष गरिने प्रसाईंले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हाम्रा यी मागहरु पूरा नहुन्जेलसम्म आन्दोलन जारी रहन्छ । यसमा सहमति जनाउन पूर्वराजा ज्ञानेन्द्र शाह पनि आउनुहुन्छ । यो लडाई भनेको राष्ट्रको लागि हो, राष्ट्रियताको लागि हो । व्यवस्था बदल्ने लडाई हो । हामीले धर्म खोजेको, राजा खोजेको हो ।’
व्यवसायी प्रसाईंले आफूहरुको सो माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने बताउनु भयो । उहाँले बैंक तथा वित्तीय संस्थाहरुको मारमा परेकाहरु आफूहरुको आन्दोलनमा सहभागी दाबी समेत गर्नुभयो ।