काठमाडौं । नेकपा माओवादी केन्द्र का सांसद जनार्दन शर्माले राष्ट्रपतिका लागि तानातान नभइ सहकार्य र सहमति हुनुपर्ने बताउनुभएको छ ।
शुक्रवार संसदबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रपतिका लागि नेकपा एमाले, नेपाली काँग्रेस लगायत अन्य दलहरुले सहमति गरेर अघि बढ्न आवश्यक रहेको बताउनु भयो ।
उहाँले राजनीतिक खिचातानी, लडाईं लडेर नभइ अब देशको समृद्धिको बाटोमा सबै पार्टी जिम्मेवार भएर लाग्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले एजेण्डाहरुसहित राष्ट्रिय सहमति गर्ने भनेर प्रश्ताव अघि सारेका छौँ । त्यो एमालेसँग पनि छलफल हुन्छ, अरु पार्टीहरुसँग पनि छलफल हुन्छ र अहिले तानातानको अवस्था होइन, सहकार्यको अवस्था हो ।
सहकार्य गरेर जानुपर्छ, राष्ट्रिय सहमति गर्नुपर्छ । राजनीतिक खिचातानी, लडाईं लडेर होइन, अब देशको समृद्धिको बाटोमा सबै पार्टी जिम्मेवार भएर लाग्नुपर्छ ।’
सांसद शर्माले आज साँझ बस्ने नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी, नेपालसहितका राजनीतिक दलहरुको बैठकपछि राष्ट्रपति उम्मेदवारको टुंगो लाग्ने बताउनु भयो ।