काठमाडौं । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा यूएईले नामिबियामाथि १ विकेटको सङ्घर्षपूर्ण जित निकालेको छ ।
दुबई क्रिकेट मैदानमा नामिबियाले दिएको ९२ रनको सामान्य लक्ष्य यूएईले ३३ ओभरमा ९ विकेट गुमाएर भेटायो । यूएईका आयान अफजल खानले नटआउट ३५ रन बनाए । बलिङतर्फ नामिबियाका तान्गेनी लुङ्गामेनीले ४, रुबेन ट्रम्पलम्यानले ३ र बेन शिकोन्जोले २ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको नामिबिया ३१ ओभर १ बलमा ९१ रन बनाउँदा अलआउट भयो । नामिबियाका ट्रम्पलम्यानले सर्वाधिक ३० रन बनाए । बलिङतर्फ यूएईका जहूर खान, अफजल खान र कार्तिक मय्यप्पनले ३र३ विकेट लिए ।
यो जितसँगै यूएई २७ खेलमा २९ अङ्कका साथ तालिकाको पाँचौँ स्थानमा छ । नामिबिया ३५ खेलमा ३७ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ ।