भक्तपुर । भक्तपुर नगरपालिकाले आयोजना गरेको अन्तरनगर पुरुष खो खो प्रतियोगिताको उपाधि ठाकुरबाबा नगरपालिकाले हात पारेको छ ।
स्थानीय सहिद स्मृति खेलमैदानमा यही फागुन ५ गतेदेखि सुरु भई मङ्गलबार सम्पन्न प्रतियोगितामा उपाधि हात पार्दै ठाकुरबाबा नगरपालिकाले नगद रु एक लाख ५० हजारसहित ट्रफी हात पारेको हो ।
प्रतियोगितामा दोस्रो हुने कीर्तिपुर नगरपालिकाले एक लाख नगदसहित ट्रफी र तेस्रो हुने धनगढी उपमहानगरपालिकाले रु ५० हजार नगद पुरस्कारसहित ट्रफी प्राप्त गरेका छन् ।
नगरपालिकाले आज आयोजना गरेको पुरस्कार वितरण समारोहमा संघीय सांसद एवं नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई नगद पुरस्कार, ट्रफी र खेलाडीलाई पदक प्रदान गर्नुभयो ।
विभिन्न जिल्लाबाट कुल १३ नगरपालिकाको १४ टिमको सहभागिता रहेको प्रतियोगितामा सहभागी सबै नगरपालिकालाई नगरप्रमुख एवं कार्यक्रमका सभापति सुनिल प्रजापतिले नगद रु पाँच हजार पुरस्कारसहित मायाको चिनो प्रदान गर्नुभयो ।