बागलुङ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरको दर्शन गर्नुभएकाे छ । राष्ट्रपति बनेपछि पहिलो पटक कालिका भगवती मन्दिरको दर्शन गर्न आउनुभएकी भण्डारीले विशेष पूजाआराधना गरेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयाे ।
राष्ट्रपति भण्डारीले मन्दिरमा १० मिनेट पूजाआजा गर्नुभएकाे थियाे । पूजापछि कालिका भगवती मन्दिरका मुख्य पुजारी जयबहादुर खड्काबाट राष्ट्रपति भण्डारीले प्रसाद ग्रहण गर्नुभएकाे हाे।
हेलिकोप्टरबाट बागलुङ आउनुभएकी राष्ट्रपति भण्डारीलाई गण्डकी प्रदेशका सभासद दिपेन्द्र बहादुर थापा,कृष्णप्रसाद पाठक,गोविन्द नेपाली, प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ,कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्का,बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ लगायतहरूले स्वागत गर्नुभएकाे थियाे ।
बागलुङ कालिका भगवती मन्दिर नेपालको एक प्रशिद्ध शक्तिपीठ हो । मन्दिरमा देशभरीका दर्शनार्थीहरू र छिमेकी मुलुक भारतबाट पनि हजारौं दर्शनार्थी आउने गर्दछन् । मन्दिर पाल्पाका राजा मुकुन्दसेनले आफ्नी छोरीको विवाह तत्कालीन पर्वतका राजा प्रतापनारायण मल्लसँग सन् १५९१ मा गरिदिएपछि छोरीले माझकी देवीलाई पनि दाइजोको रुपमा बुबासँग मागेर आफूसँगै ल्याएको र कालीगण्डकी नदी किनारमा विधिपूर्वक स्थापना गरेको इतिहास रहेको अध्यक्ष खड्काले बताउनुभयाे ।
बागलुङ कालिकाप्रति विश्वास राखी विभिन्न मनोकामना लिएर आउने भक्तजनहरूको मनले चिताएको कुरा पुग्छ भन्ने विश्वास रहँदै आएको छ । मन्दिरको दर्शन गर्न जानेहरु विशेष गरी पुत्र नहुनेलाई पुत्रलाभ,सन्तान नहुनेलाई सन्तान,विवाह नभएकोलाई उचित बरवधु,परीक्षामा सफलता मिल्ने विश्वास रहँदै आएको छ ।
कालिका भगवती मन्दिरमा वर्षको दुई पटक चैते दशैं र वडा दशैंमा दर्शनार्थीको भीड लाग्ने गर्दछ । मन्दिरमा माघ र साउन महिनाबाहेक वर्षभरी नै दर्शनार्थीको चहलपहल हुने गर्दछ ।
मन्दिरमा प्रत्येक मंगलबार,शनिबार र अष्टमीलगायत विभिन्न तिथीहरूमा भक्तजनहरूको बढी भीड लाग्ने अध्यक्ष खड्काले बताउनुभयाे ।