काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय मानव अधिकार आयोगलाई संस्थागत र संरचनागतरूपमा बलियो बनाउने बताउनुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बुधवार आयोगका पदाधिकारीहरूसँगको भेटमा उहाँले आयोगलाई बलियो बनाउने आफ्नो प्रयत्न रहने बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘नेपालको राष्ट्रिय र अन्तर्राष्ट्रिय छवि राष्ट्रिय मानव अधिकार आयोगको स्थितिबाट नापिन्छ ।
आयोग कस्तो छ, यो कति शक्तिशाली छ, साधन स्रोतले कति सबल छ भन्ने कुराले नेपालको मानव अधिकारको स्थिति के छ भन्ने कुरा मापन हुन्छ । तसर्थ आयोगलाई शक्तिशाली र साधन स्रोत सम्पन्न बनाउने कुराको सबैभन्दा ठूलो महत्त्व र भूमिका छ ।’
लोकतन्त्र र लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउने कुरामा आफू गम्भीर रहेको जनाउँदै उहाँले आयोगका सात वटै प्रदेशका संरचना पनि बलियो बनाएर लोकतन्त्र, कानुनी राज्य र नागरिकको मानव अधिकारलाई संरक्षण र प्रवर्धन गर्नुपर्ने बताउनुभयो । ‘यो सरकार मानवअधिकारप्रति संवेदनशील छ’, उहाँले भन्नुभयो ।
भेटमा आयोगका पदाधिकारीहरूले सङ्घीय संरचनाअनुसार आयोगको पुनर्संरचना आवश्यक रहेको, साधन स्रोत र पर्याप्त बजेटका निम्ति सरकारसँग सहयोगको अपेक्षा गरिएको जनाउँदै आयोगका निम्ति आवश्यक पर्ने ऐनहरू र नियमावली निर्माणलाई प्राथमिकतामा राख्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको थियो ।
छलफलमा प्रधानमन्त्रीले आयोगका सबै माग र ध्यानाकर्षण आफूले योजनाबद्धरूपमा पूरा गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ ।