काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध दिवस अब नेपालकै सम्पत्ति भएको बताउनुभएको छ । आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
उहाँले परिवर्तन ल्याउने प्रमुख आन्दोलन र त्यसको नेतृत्वले जनयुद्ध दिवसको औचित्य सिद्ध गर्दै ऐतिहासिक आवश्यकतालाई मनन गरेर नै नेपाल सरकारको तर्फबाट जनयुद्ध दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिएको बताउनु भयो ।
उहाँले आफूले यस पटकको सरकारको नेतृत्वलाई चुनौतीपूर्ण अवसरको रुपमा लिएको उल्लेख गर्दै असफल हुने छुट नरहेको उल्लेख गर्नुभयो । उहाँले सामाजिक न्याय, सुशासन र आर्थिक विकासको क्षेत्रमा फड्को मार्नुको विकल्प नरहेको पनि बताउनु भयो ।
प्रधानमन्त्री प्रचण्डले केही समयदेखि सङ्घीय, लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमा कयौँ कोणबाट प्रश्न उठाउने कोसिसहरु भइरहेको उल्लेख गर्दै जनयुद्धको औचित्य पुष्टि गर्नु अपरिहार्य भएको बताउनु भयो । उहाँले फेरि एक पटक नयाँ सङ्कल्पसहित अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै सबै माओवादी आन्दोलनका विभिन्न धाराका समूहलाई एकताबद्ध भएर सामाजिक न्याय र रुपान्तरणको निम्ति अघि बढ्न अपिल गर्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले कम्युनिष्ट र समाजवादी आन्दोलनका शक्तिहरुसँग पनि समाजवादी मोर्चा बनाएर जाने सैद्धान्तिक सहमति भइसकेको उल्लेख गर्दै छिट्टै पार्टी एकताको अर्को एउटा प्रक्रिया अघि बढ्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सरकारको नेतृत्व गर्नुलाई मैले चुनौतीपूर्ण अवसरको रुपमा लिएको छु । हामीलाई असफल हुने बिल्कुलै छुट छैन । हामीले सामाजिक न्याय, सुशासन र आर्थिक विकासको क्षेत्रमा फड्को मार्नु नै पर्नेछ । यसरी मात्रै हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्म र भावनालाई ठिक ढङ्गले कार्यान्वयन गर्न सकिन्छ ।
केही समयदेखि सङ्घीय, लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमा कयौँ कोणबाट प्रश्न उठाउने कोसिसहरु भइरहेका छन् । यस्तो बेलामा यो परिवर्तन ल्याउने प्रमुख आन्दोलन र त्यसको नेतृत्वले यसको औचित्य सिद्ध गर्न दृढताकासाथ अघि बढ्नुको कुनै विकल्प छैन ।’