महोत्तरी । महोत्तरीको बर्दिबासमा एक बालकलाई ६ घण्टासम्म बन्धक बनाएर निर्घात कुटपिट गरिएको छ। बर्दिबास १२ बस्ने १४ वर्षीय इन्द्रजित कुमार महतोलाई माटोको खुत्रुकेमा जम्मा गरेको पैसा चोरी गरेको आरोपमा स्थानीयले निर्ममतापूर्वक कुटपिट गरेका हुन्।
पीडित परिवारकाअनुसार स्थानीय युवाहरू रन्जित महतो, सन्जित महतो, हरि महतो, रामजन्म महतो, सुशील महतो र रन्जित चौधरीले ६ घण्टासम्म बन्धक बनाएर कुटपिट गरे। प्रत्यक्षदर्शीका अनुसार पीडक युवाहरूले बालकलाई मोटरसाइकलको पछाडि राखेर घिसार्दै आरोपित मध्यका सन्जित महतोको घरमा पुर्याएर ६ घण्टासम्म यातना दिएको पीडित परिवारको आरोप छ।
गत २३ माघमा भएको उक्त घटनाको अहिले खुलासा भएको हो। सो दिन १२ बजे नियन्त्रणमा लिएर बेलुका ६ बजे मात्र छाडेको पीडित वालक इन्द्रजित महतोले बताए। ‘मलाइ बाइकमा घिसारेर सन्जित महतोको घरमा पुर्याए अनि डोरीले दुवै हात बाँधेर झुन्ड्याएर कुटपिट गरे।’ पीडित इन्द्रजितले रुँदै भने, ‘खुकुरी देखाए।
पैतालामा तारले कुटे। मलाई पानीमा मुन्टो डुबाए अनि पैतालामा पनि असह्य हुने गरी पिटे। टाउकोमा पनि औँठी लगाएको हातले जोडले मारे।’
पीडित बालकको पैतालामा सिर्कनाले हानेको अझै नीलडाम देख्न सकिन्छ। हिँडडुल गर्न समेत समस्या बनिरहेको अवस्थामा उनी विद्यालय जान सकेका छैनन्। महतोको ढाडमा लट्ठीले हानेजस्तो सुम्ला देखिन्छन् भने खुट्टामा गहिरो नीलडाम छ।
निर्घात कुटपिट गरेर बेलुका छाडेपछि पीडित परिवारजनले गाउँमा नै रहेको सुरज बस्नेतको क्लिनिकमा पुर्याएर उपचार गरेका थिए। ‘उपचारमा मात्र २ हजार खर्च भयो, आम्दानीको स्रोत केही छैन’, पीडित बालककी आमा कोशिला देवीले भनिन्। घटना पछि कोशिला देवीलाई समेत घरमा आएर ती युवाहरूले अभद्र व्यवहार गरेको थिए।