काठमाडौं । टर्कीमा भूकम्प गएको ९० घण्टापछि एक नवजात शिशु र उनकी आमाको जीवितै उद्धार भएको छ । हाटाई प्रान्तमा यागीज नाम गरेका १० दिनका शिशु र उनकी आमाको उद्धार गरेको बीबीसीले जनाएको छ ।
सामाजिक सञ्जालमा प्रसारित भिडिओमा ती शिशुलाई सावधानीपूर्वक कम्बलमा बेरेर एम्बुलेन्समा लगिएको र उनकी आमालाई स्ट्रेचरमा राखेर लगिएको देखिएको छ ।
आमा छोराको स्वास्थ्य अवस्थाबारे थप विवरण प्राप्त भएको छैन । यसअघि भूकम्प गएपछि भग्नावशेषभित्र जन्मिएकी एक शिशुको ३० घण्टापछि उद्धार भएको थियो । ती बालिकाको अवस्था अहिले स्थिर रहेको बीबीसीले जनाएको छ ।
टर्कीमा भूकम्प गएको चार दिन भएको छ । अत्यन्तै चिसो मौसमको बीचमा भग्नावशेषमा पुरिएकाहरू जीवितै फेला पार्ने आशा घट्दै गएका छन् । तर पनि टर्की र छिमेकी सिरियाको प्रभावित क्षेत्रमा खोजी र उद्धार भइरहको छ ।