काठमाडौं । टर्कीको भूकम्प प्रभावित क्षेत्रमा रहेका २ जना नेपाली अझै सम्पर्कमा नआएको गैरआवासीय नेपाली संघले जनाएको छ । टर्की समेत हेर्ने पाकिस्तान स्थित नेपाली दुतावासका अनुसार भूकम्प प्रभावित क्षेत्रमा अहिलेसम्ममा ३३ जना नेपाली रहेको पुष्टि भएको छ । ३१ जना नेपाली नागरिक दूतावासको सम्पर्कमा आएका छन् ।
जसमध्ये २ जना सम्पर्कमा नआएको टर्कीमा रहेका गैरआवासीय नेपाली संघका महासचिव विनोद पौडेलले बताउनुभयाे । ‘दुई जना नेपाली त्यहाँ हुनुहुन्छ भन्ने थाहा छ,’ पौडेलले भन्नुभयाे, ‘तर, उहाँहरुसँग सम्पर्क हुन सकिरहेको छैन ।’
सम्पर्कमा नआएका दुई जना नेपाली महिला हुनुहुन्छ । उहाँहरु त्यहाँ घरेलु कामदारका रुपमा कार्यरत रहेको पौडेलले बताउनुभयाे । महासचिव पौडेलका अनुसार सम्पर्कमा आएका एक जना नेपाली समान्य घाइते छन् ।
सञ्चार सम्पर्क टुटेका कारण भूकम्पग्रस्त सबैठाउँमा सम्पर्क हुन नसकेको पौडेलले बताउनुभयाे । भूकम्प गएको टर्कीको गाजियान्टेपमा कति नेपाली छन भन्ने यकिन तथ्यांक छैन । भूकम्पग्रस्त क्षेत्रमा नेपाली विद्यार्थी र घरेलु कामदार रहेका छन् । कतिपय घरेलु कामदार गैरकानूनी रुपमा काम गरिरहेकाले सम्पर्क गर्न कठिनाई भएको पौडेलले बताउनुभयाे ।
भूकम्पग्रस्त क्षेत्रमा थप नेपाली हुनसक्ने अनुमान पाकिस्तानस्थित नेपाली दुतावासको छ । सम्पर्कमा आएका नेपालीका माध्यमबाट भूकम्पग्रस्त क्षेत्रमा रहेका अरु नेपालीका बारेमा बुझ्ने प्रयास भइरहेको दुतावासले जनाएको छ । सम्पर्कमा आएका अधिकांश नेपालीहरु सुरक्षित स्थान खोज्दै टर्कीको इस्तानबुल र अंकारा शहरतिर गइरहेका छन् ।