काठमाडौं । सामाजिक सुरक्षा भत्ता लिन गएकी छविसपाथिभेरा गाउँपालिका वडा नम्बर १ की ७२ वर्षीया वृद्धा सीता गिरीको हिजो बाटोमै ज्यान गयो । घरबाट ५ किलोमिटर टाढा रहेको कुमारी बैंकबाट भत्ता लिएर घर फर्किँदै गर्दा एकल महिला गिरीको बाटोमै ज्यान गएको हो । उहाँ दमको बिरामी हुनुहुन्थ्यो ।
यो त प्रतिनिधि घटना मात्रै हो । सरकारले बैंकमार्फत् सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था गरेपछि दुर्गम जिल्लाका नागरिकलाई निक्कै सास्ती हुने गरेको छ । विशेषत वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति, बेसहारा, हिँडडुल गर्न नसक्नेहरुले लागि घरमा नै पुगेर भत्ता दिने व्यवस्था नहुँदा निक्कै दुख पाउने गरेका छन् ।
भत्ताका लागि लामो समय बैंकमा लाइन बस्नुपर्ने, कहिले इन्टरनेटले काम नगर्दा यत्तिकै फर्किन गर्ने बाध्यता रहेको उनीहरु बताउँछन् । गाउँपालिकाले घरघरमा पुगेर भत्ता वितरण गर्न सके वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति, एकल महिला हिँडडुल गर्न नसक्नेहरुलाई सहज हुने उनीहरुको बुझाइ छ ।
स्थानीय शिवजला भण्डारी भन्नुहुन्छ, पालिकामा गएर पनि तत्काल काम हुँदैन । एकरदुई दिन कुर्नुपर्छ । स्थानीय सरकार आएपछि सहज होला भन्ने सोचेकी थिएँ । तर झन् समस्या भएको छ । पहिला घरमै आएर भत्ता दिने गरेका थिए । अहिले बैंकमा नै पुगेर भत्ता ल्याउनु पर्छ । बाटो पनि निकै अप्ठ्यारो छ ।
उमेर ढल्केका हामीहरु हिँडडुल गर्न सक्दैनौँ । सकी नसकी भत्ता बुझ्न जानुपर्छ । बैंकमा कतिबेला के हुने हो त्यो जानकारीसम्म पनि हुँदैन । घरमा नै वा आफन्तहरुको हातमा सहज तरिकाले भत्ता उपलब्ध गराइ दिने व्यवस्था भए सजिलो हुने उहाँ बताउनुहुन्छ ।
छविसपाथिभेरा गाउँपालिकामा मात्रै नभएर बझाङका १२ वटै पालिकामा यही समस्या रहेको छ । छविसपाथिभेरा गाउँपालिका १ का वडा अध्यक्ष करनजंग बहादुर सिंह भने हिँडडुल गर्न नसक्ने, अपाङ्गता भएका व्यक्ति तथा एकल महिला वृद्धवृद्धाहरुका लागि इच्छाइएको व्यक्तिले नै भत्ता बुझ्न सक्ने व्यवस्था गाउँपालिकाले गरेको दाबी गर्नुहुन्छ ।
तर ज्यान गुमाएकी गिरीको आफन्त कोही नभएको र भत्ता बुझ्नका लागि इच्छाइएको व्यक्तिको परिचयपत्र नभएकाले आफैँ जानुपर्ने अवस्थाका कारण यस्तो भएको उहाँले बताउनु भयो । घरमा कोही पनि नभएका व्यक्तिहरुको हकमा पालिकाले फेरि अर्को निर्णय गरेर सहज तरिकाले भत्ता उपलब्ध गराउने व्यवस्था गर्ने उहाँले बताउनुभयो ।
छविसपाथिभेरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गगन बहादुर ऐडीले वृद्धा महिलाको ज्यान के कारणले गयो भन्नेबारे जानकारी नभएको बताउनु भयो । उहाँले सामाजिक सुरक्षा भत्ता सहज तरिकाले उपलब्ध गराउनका लागि छिट्टै छलफल गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।