काठमाडौं । सरकारले कोरोनाको नयाँ भेरियन्ट (ओमिक्रोन) नियन्त्रणमा समेत काम गर्ने भनिएको फाइजरको नयाँ खोप (बाइभलेन्ट) खोप फागुनको पहिलो साता नेपाल आउने जनाएको छ ।
कोभ्याक्सको काम गरिरहेको गाभीमार्फत १५ लाख डोज फाइजरको नयाँ खोप ल्याउन लागेको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिनुभयाे ।
उहाँका अनुसार फागुन १ गतेदेखि ४ गतेसम्म आउने कार्यतालिका रहेको छ । ‘अहिले हामीले १५ लाख मागेका हौं । यसको खपतको आधारमा पछि आवश्यकताको आधारमा थप १५ लाख ल्याउने योजना छ’, चौरासियाले भन्नुभयाे ।
छिमेकी देशमा चीनमा ओमिक्रोनको उपप्रजाति बी.एफ. ७ फैलिरहेकाले सरकारले बुस्टर खोप लगाउन छुटेका सबैलाई खोप लगाउन आग्रह गर्दै आएको छ । विज्ञका अनुसार ओमिक्रोनका सबभेरिन्यटको संक्रमणलाई रोक्न बाइभलेन्ट खोप बढी प्रभावकारी छ ।
खोपको पूर्ण मात्रा पूरा गरिसकेका व्यक्तिमा ६ महिनाभन्दा बढी समय बित्दै जाँदा खोपको रोग प्रतिरोधात्मक क्षमतामा पनि क्रमशः ह्रास हुँदै जान्छ ।
नेपालमा पनि तेस्रो डोज लगाएका एक बर्षभन्दा बढी भइसकेकाले पुनः खोप दिनुपर्ने आवश्यकता भएको संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी बताउँनुहुन्छ ।
उसो त, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि जेष्ठ नागरिक, दीर्घरोगी र जोखिममा भएका व्यक्तिलाई चौथो डोज दिने निर्णय गरेको छ । राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिसमा मन्त्रालयले मन्त्रीस्तरबाट १७ कात्तिकमै दोस्रो बुस्टर डोज दिने निर्णय गरेको थियो । त्यसअनुसार परिवार कल्याण महाशाखाले प्रदेश स्वास्थ्य निर्देशनालय र स्वास्थ्य कार्यालयहरुलाई परिपत्र गरेको छ ।