काठमाडौं । चालु आर्थिक वर्षको ६ महिना साउनदेखि पुससम्म रेमिट्यान्स २४ प्रतिशतभन्दा धेरैले बढेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार छ महिनामा रेमिट्यान्स २४.३ प्रतिशतले बढेर पाँच खर्ब ८५ अर्ब आठ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको छ महिनामा रेमिट्यान्स ५ प्रतिशतले घटेको थियो ।
यस्तै वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ६४.६ प्रतिशतले वृद्धि भई दुई लाख ७५ हजार छ सय ४३ जना पुगेको छ ।
त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या साउनदेखि पुससम्म साढे नौ प्रतिशतले बढेर एक लाख ४२ हजार पाँच सय ४८ जना पुगेको छ । अघिल्लो वर्षको छ महिनामा यस्तो सङ्ख्या दुई सय ९८ प्रतिशतले बढेको थियो ।