काठमाडौं । तनहुँको म्याग्दे गाउँपालिका ५ चिमखानाका कृषक कृष्ण खड्काले बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ ।
विगत केही वर्षदेखि बाख्रापालन व्यवसाय सुरु गरेका उहाँले बाख्रापालनबाट भएको आम्दानीले घरखर्च चलाउँदै आउनुभएको छ ।
उहाँले बाख्रापालनबाट वार्षिक करिब चार लाख आम्दानी गर्दै आउनुभएको छ। कृपा कृषि तथा पशु फार्म दर्ता गरेर बाख्रापालन गरेका खड्का फार्ममा अहिले २८ वटा बाख्रा छन् । खड्कालाई बाख्रापालनका लागि श्रीमती, छोरा र बुबाले सघाउँदै आउनुभएको छ ।
‘जहाँ गए पनि केही न केही गर्नुपर्दछ, त्यो भन्दा आफ्नै गाउँमा नै बाख्रा र कृषि गर्छु भन्ने सोचसहित व्यवसाय सुरु गरेको हुँ’, उहाँले भन्नुभया। लगातारको निरन्तर प्रयासले बाख्रापालनबाटै घरखर्च चलेको उनको भनाइ छ ।
‘घरमा खाली बस्नुपरेको छैन । आम्दानीको स्रोत पनि बनेको छ’, उहाँले भन्नुभयो, ‘काममा दत्तचित्त भएर लाग्ने भए पैसा कमाउन विदेश जानुपर्दैन ।’
खड्काले बाख्राका लागि आवश्यकपर्ने घाँसखेती गरेका छन् । आफ्नै जग्गामा घाँसखेती गरिरहेको उहाँले बताउनुभयो । ‘स्थानीय जातका बाख्राको मूल्य राम्रो हुने र जोखिम पनि कम हुँदा व्यवसायले सन्तुष्टि दिएको छ’, उहाँले भन्नुभयो ।
कृषक खड्काले बाख्रापालनबाट खर्च कटाएर मासिक ३० हजारभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । ‘बाख्रा बिक्रीका लागि बजारको समस्या छैन, खर्च कटाएर बचेको पैसाले घरखर्च चल्दै आएको छ’, उहाँले भन्नुभया ।