काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेविरुद्ध परेको जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ ।
खारेज भएको नागरिकताका आधारमा राहदानी लिएको भन्दै राहदानी ऐनअनुसार कारबाही गर्न माग गर्दै युवराज पौडेल जाहेरी लिएर काठमाडौं प्रहरी परिसर पुगेका थिए । तर प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ ।
काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ नआइसकेकाले यो जाहेरी दर्ता नगरिएको हो ।
लामिछानेले अमेरिकी नागरिक रहेका बेला नेपालको पुरानो नागरिकतालाई प्रयोग गरेर १२ जेठ २०७२ मा नेपाली पासपोर्ट लिएका थिए ।
सर्वोच्च अदालतको शुक्रबारको फैसलाअनुसार उनको त्यो नागरिकता २०७० मै खारेज भइसकेको थियो ।
त्यही कारण सर्वोच्चले उनको सांसद पद समेत खारेज गर्ने फैसला सुनाएको छ भने लामिछानेले पनि नयाँ नागरिकता लिएका छन् ।