धनकुटा । धनकुटा नगरपालिका-५ तल्लो टुँडिखेलमा जारी एभोकाडो तथा पाँचौ धनकुटा महोत्सव सांस्कृतिक कार्यक्रमबाहेक निरन्तर सञ्चालन हुने भएको छ।
आइतबार दिउँसो आयोजक र प्रशासनबीच भएको छलफलमा साँझ ६ बजेसम्म महोत्सव सञ्चालन हुने सर्वपक्षीय निर्णय भएको आयोजक धनकुटा उद्योग वाणिज्य संघका सचिव तथा प्रचारप्रसार समितिका संयोजक श्रीराम रायमाझीले बताउनुभयाे।
शनिबार राति धनकुटा महोत्सवस्थलको प्रवेशद्वार गेटमा भएको अत्यधिक भीडमा ठेलमठेल हुँदा कन्सर्ट हेर्न गएका ३० जना घाइते भएका थिए। उक्त घटनापछि स्थानीय प्रशासनले महोत्सवको सबै कार्यक्रम स्थगित गरेको थियो।
उहाँका अनुसार भोलिसम्म महोत्सव यथावत हुने छ। सुरक्षाको कारण देखाउँदै बेलुका ६ बजेपछिको सांस्कृतिक कार्यक्रम र हाउजी बिंगो कार्यक्रम सञ्चालन नगर्ने निर्णय गरिएको हो।
निर्णयसँगै आजदेखि हुने राष्ट्रिय कलाकारको सबै सांगीतिक कार्यक्रम स्थगित गरिएको उहाँले बताउनुभयाे। महोत्सव १६ गतेसम्म सञ्चालन हुनेछ। महोत्सवको औपचारिक समापन भोलि हुने उहाँको भनाइ छ।
हिजोको घटनामा घाइते भएका ३० जनामध्ये अधिकांशको उपचार भई घर फर्किएका छन्। केही घाइतेहरूको विराटनगरस्थित गोल्डेन अस्पताल र धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
घाइतेहरूको उपचारका लागि कुनै कसुर बाँकी नराखिएको महोत्सव संयोजक विजयसन्तोषी राईले बताउनुभयाे।