पोखरा । गण्डकी विश्वविद्यालयको आयोजनामा सोमबारदेखि कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिता सुरु भएको छ । पोखरा रंगशालामा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सोमबार प्रतियोगिताको उद्घाटन गर्नुभएकाे हाे ।
सोमबार भएको उद्घाटन खेलमा इन्द्र राज्यलक्ष्मी माध्यमिक विद्यालय विजयी भएको छ । पोखरा रंगशालामा भएको पहिलो खेलमा इन्द्र राज्यलक्ष्मीले ग्लोबल कलेजियट माध्यमिक विद्यालयलाई ३–१ ले पराजित गरेको हो ।

राज्यलक्ष्मीको जितमा दीपक गोलेले २ र सुजल नेपालीले १ गोल गरे । ग्लोबलका लागि मन्दीप गुरुङले १ गोल फर्काए । खेलको सुरुआत चौथो मिनेटमै राज्यलक्ष्मीका गोलेले गोल गर्दै अग्रता दिलाएका थिए । त्यसको ८ मिनेटपछि १२ औं मिनेटमा ग्लोबलका मन्दीपले बराबरी गोल फर्काएका थिए । त्यसपछि पहिलो हाफमा गोल हुन सकेन । दोस्रो हाफमा ४२ औं मिनेटमा राज्यलक्ष्मीका सुजलले गोल गर्दै टिमलाई २–१ को अग्रता दिलाए ।
खेलको इन्जुरी समयमा राज्यलक्ष्मीका दीपक गोलेले गोल गर्दै ३–१ को जित दिलाए । विजयी इन्द्र राज्यलक्ष्मीले क्वाटरफाइनलमा प्रवेश गरेको छ । अब क्वाटरफाइनलमा राज्यलक्ष्मीले छोरेपाटन माध्यमिक विद्यालयसँग मंगलबार
खेल्नेछ । पराजित ग्लोबल कलेजियट प्रतियोगिताबाट बाहिरिएको छ ।
खेल ३०–३० मिनेटको खेलाइएको थियो । यसअघि प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज
अधिकारीले खेलाडी र प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभयाे । ‘खेलकुदका माध्यममार्फत शारीरिक सुगठन, निरोगी, स्वास्थ्य रहने यस प्रतियोगिताले र यस विश्वविद्यालयले सहयोग गर्नेछ भन्ने विश्वास मैले लिएको छ,’उहाँले भन्नुभयाे ।
विश्वविद्यालयका कुलपति प्राडा. गणेशमान गुरुङले पहिलोपटक आयोजना गरेको प्रतियोगिता सहभागी भएको खेलाडी धन्यवाद प्रकट गरे । उहाँले विश्वविद्यालयले आजको आवश्यकता र परिस्थितिलाई हेरेर विषयहरु अध्यापन गराउँदै आएको बताउनुभयाे । योे प्रतियोगिताले खेलकुदको विकासमा थप टेवा पुग्ने गुरुङले दाबी गर्नुभयाे ।
खेलकुदको विकास सम्वद्धन र संरक्षणका खातिर योजनावद्ध र प्रतिवद्धयुक्त दक्ष जनशक्ति उत्पादन गर्न यो प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने प्रतियोगिताका संयोजक डा. मधुुसूदन सुवेदीले बताउनुभयाे । ‘स्पोर्टस् हबका रुपमा परिचित गण्डकी
प्रदेशभित्रका उदयीमान खेलाडीको प्रतिभालाई प्रस्फुटन गर्न एकाग्रता, स्वच्छ प्रतिस्पर्धाको भावना विकास गरी खेलकुदप्रति आकर्षण पैदा गर्न यो प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरेका छौं,’ उहाँले भन्नुभयाे ।
प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ । प्लेयर अफ द टुर्नामेन्टलाई ट्रफिसहित १० हजारको व्यवस्था गरिएको छ । यो विश्वविद्यालय नेपालमै पहिलो पटक प्रदेश सरकारद्वारा स्थापना गरेको विश्वविद्यालय हो । विश्वविद्यालयले विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्नुका साथसाथै विश्वविद्यालयले अन्वेषण र अनुसन्धानलाई समेत प्राथमिकतामा राख्दै आइरहेको छ।
यो विश्वविद्यालय स्नातक तहमा खेलकुद व्यवस्थापन विषयको पठनपाठन सुरु गरेको नेपालकै पहिलो र एकमात्र विश्वविद्यालय हो । विश्वविद्यालयले खेलकुद क्षेत्रको समग्र विकासलाई विशेष प्राथमिकता दिइरहेको संयोजक मधुसूदन सुवेदीले बताउनुभयाे ।