झापा । दमक ३ ढुकुरपानीका ६२ वर्षीय नरेन्द्र गौतमलाई तीन वर्षअघि आफ्नो घरै अगाडि आकाश छोला जस्तै गरी विशाल भवन ठडिएला भन्ने कल्पना पनि थिएन ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको परिकल्पनामा दृश्यावलोकन स्तम्भ भ्यू टावर बनाउने हल्ला सुन्दा उनीजस्तै ढुकुरपानीका बासिन्दाले सुरुमा पत्याएका थिएनन् ।
‘हेर्दाहेर्दै १८ तलाको टावर बनिसक्यो, बाहिरका मानिसहरू के छ, कसो हुँदैछ भनेर सोधीखोजी गर्न दिनहुँ आइरहन्छन्,’ गौतमले भने ‘तीन वर्षअघि सम्झिँदा यो ठाउँ धान खेतीका लागि पनि त्यति उब्जाउ थिएन, अहिले ठूलो सहर बस्लाजस्तो भइसक्यो ।’
नेपालकै राष्ट्रिय गौरवको परियोजनाका रुपमा दमक भ्यू टावरको निर्माण दमक बजारभन्दा तीन किलोमिटर टाढा ढुकुरपानी गाउँमा २०७६ साल असार २७ गते सुरु भएको थियो ।
३० महिनाभित्र कार्य सम्पन्न गर्ने सम्झौताका साथ चिनियाँ कम्पनी सिजिआइइसी र आशिष ओम साइराम जेभीले साझेदारीमा निर्माणको ठेक्का लिएका थिए ।
कोभिड १९ को महामारीको दुई लहर, कन्स्ट्रक्सन होलिडे र बजेट अभावका कारण यसको निर्माण अवधि डेढ वर्ष धकेलिएको सघन सहरी विकास तथा भवन निर्माण आयोजनाले जनाएको छ ।