काठमाडौं । सिन्धुपाल्चोकमा २०७२ सालको भूकम्पबाट विस्थापित भएका नागरिकलाई खानेपानीको अभाव भएको छ ।
इन्द्रावती गाउँपालिका १ सिम्पालकाभ्रेका बासिन्दालाई खानेपानीको अभाव भएको हो । इन्द्रावतीको तल्लो बसेरी, ढाडेँलगायतका ५३ परिवारलाई त्यहाँको वडा ४ नवलपुरमा सामूहिक जग्गा खरिद गरेर स्थानान्तरण गरिएको थियो ।
स्थानान्तरणपछि बस्तीका हरेक घरमा धारा बनेका छन् तर खानेपानी सङ्कलनका लागि बनाइएको ट्याङ्की रित्तो छ । बस्तीका लागि स्थायी खानेपानीको मूलसमेत नहुँदा एक गाग्री पानी थाप्न दैनिक तीन किलोमिटर टाढा पुग्नुपर्ने बाध्यता रहेको विस्थापित हीरामाया तामाङको गुनासो छ ।
पुस्तौँदेखि बसोबास गर्दै आएको बस्तीको जमिन भूकम्पका कारण चिरा परेपछि स्थानान्तरण भएको तर खानेपानीको समस्यासँगै जीविकोपार्जन पनि कठिन भएको विस्थापितको गुनासो छ । विस्थापित बस्तीमा खानेपानी समस्या दुई महिनाभित्र समाधान गरिने गाउँपालिकाका अध्यक्ष झम्क नेपालले बताउनुभएको छ ।