काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले आफू एमालेमै क्रियाशील रहने बताउनुभएको छ । तर, जबरजस्ती कसैले बाटो रोके आफ्नो बाटो खोज्ने बताउनुभयो ।
पाँच दशक लामो समयदेखि पार्टी र राष्ट्रहितका लागि आवाज उठाउँदै आएको बताउँदै रावलले आफ्नो रगत र पसिना एमालेमा बगेकोले पार्टीका नीति तथा सिद्धान्तलाई आत्मसाथ गर्दै पार्टीमा लागिरहने बताउनुभयो ।
मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनपछि पहिलो पटक गृहजिल्ला अछाम पुगेका नेता रावलले आफूले पार्टीको सिद्धान्त र राष्ट्रहित विपरीतका कुनै कार्य नगरेको दाबी गर्नुभयो ।
निर्वाचनमा उम्मेदवारका लागि अछाम जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र १ बाट वडा, नगर, क्षेत्र, जिल्ला तथा प्रदेशबाट एकल नाम सिफारिस भएपनि टिकट नपाएकोप्रति असन्तुष्टि पोख्दै नेता रावलले बताउनुभयो, ‘राष्ट्रिय तथा अन्तराष्ट्रिय शक्तिका कारण पटक पटक देशभक्त व्यक्तिहरुमाथि प्रहार हुँदै आएको छ ।’