पोखरा । यती एयरको विमान दुर्घटनामा परेर निधन भएका पत्रकार त्रिभुवन पौडेलको शव श्रद्धाञ्जलीका लागि नेपाल पत्रकार महासंघ कास्की तथा प्रदेशको प्रांगणमा राखिएको छ । उहाँलाई श्रद्धाञ्जली अर्पण गर्न सयौंका संख्यामा शुभचिन्तकहरु महासंघमा भेला भएका छन् ।

मुख्यमन्त्री खगराज अधिकारी, प्रतिपक्षी दलका नेता सुरेन्द्र पाण्डे, मन्त्रीहरू, सांसदहरू, नेपाल पत्रकार महासंघका केन्द्रीय पदाधिकारी, पत्रकारका संगठनहरू र शुभचिन्तक श्रद्धाञ्जली सभामा भेला हुनुभएकाे थियाे ।
महासंघ प्रदेशका संस्थापक अध्यक्षसमेत रहनुभएकाे उहाँको श्रद्धाञ्जलीपश्चात् शवयात्रा गर्दै रामघाटमा अन्त्येष्टि गरिएकाे छ ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यसमेत रहनुभएका पौडेल नेपाल प्रेस सेन्टरको बैठकको तयारीमा हुनुहुन्थ्याे । त्यसकै निम्ति काठमाडौं गएर पोखरा फर्कने क्रममा विमान दुर्घटना पर्नुभएकाे थियाे ।
पोखरा हटलाइन दैनिकका सम्पादक पौडेल नेपाल प्रेस सेन्टरको केन्द्रीय उपाध्यक्षसमेत हुनुहुन्छ । उहाँले कृष्णबहादुर महारा अर्थमन्त्री हुँदा प्रेस संयोजक भएर पनि काम गर्नुभएकाे थियाे । पौडेलको मृत्युले सिंगो पोखरेली पत्रकारिता स्तब्ध भएको छ ।